अख्तियारको टोलीले झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले वन उपभोक्ता समूहको कार्यालयमा छापा मारेर विभिन्न कागजपत्र नियन्त्रणमा लिएर गएको वन उपभोक्ता समूहका आन्तरिक लेखा समिति सदस्य देवनारायण राईले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृतको नेतृत्वमा आएको चार जनाको टोलीले २०७२ सालको वार्षिक साधारण सभाको माइन्यूट , २०६७ देखि २०७० सालसम्मको आन्तरिक प्रतिवेदन, बैठकको निर्णय पुस्तिका , घाटगद्धी रजिस्टर, पाइलिङ रजिस्टरलगायतका कागजपत्र लिएर गएको राईले बताए ।
वन उपभोक्ता समूहमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरी परेपछि केही समयअघि देखि नै अख्तियारले आन्तरिक छानबिन थालेको थियो । वन समूहको छानबिन पहिलादेखि अख्तियारले थालेको जानकारी दिँदै आयोग क्षेत्रीय कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले भने, ‘आज सम्पूर्ण कागजपत्र लिएका हौँ ।’ आवश्यक कागजपत्र नभेटिएकाले अख्तियारको टोली फेरि आउने उनले बताए ।
आन्तरिक लेखा समितिको प्रतिवेदनमा उल्लेखित टिप्पणीहरूको आधारमा वन समूहमा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट उपभोक्ताहरूले गत २०७७ साल माघ २१ गते उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका थिए । त्यस बेला उपभोक्ताद्वय नेत्रप्रसाद आचार्य र देउनारायण राईको नेतृत्वमा पुगेको २७ जना भन्दा बढी असन्तुष्ट उपभोक्ताहरूले विभिन्न १३ बुँदे मागसहितको पत्र टाँसेर समूहको कार्यालय कक्ष र बैठक कक्षमा तालाबन्दी गरेका थिए ।
गत आर्थिक वर्ष ०७६÷०७७ को लेखा परीक्षणको क्रममा संयोजक लीलाराज आचार्य र सदस्यद्वय देउनारायण राई र वीरबहादुर राई रहेको आन्तरिक लेखा समितिको गत पुस २० गतेको बैठकले १२ वटा टिप्पणीसहितको निर्णय पारित गरेको थियो ।
आन्तरिक लेखा समितिका सदस्यहरूले नै असन्तुष्टसहितको टिप्पणीहरू उल्लेख भएको प्रतिवेदन सार्वजनिक गरेको विषयमा पटक–पटक समितिलाई ध्यानाकर्षण गराउँदा पनि वनका अध्यक्ष तामाङले चासो नदिँदा उपभोक्ताहरूले तालाबन्दी गर्नुका साथै अख्तियारमा उजुरी हालेका थिए । सो वनमा २४ लाख भन्दा बढी आर्थिक अनियमितता भएको उपभोक्ताहरूले दाबी गरेका छन् । यस सामुदायिक वनको स्थापना २०५४ सालमा भएको थियो । १७ सदस्यीय उपभोक्ता समितिमा ११ जना नेकपाबाट निर्वाचित सदस्य रहेका छन् भने ६ जना काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।