1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

इलामका दुर्गाप्रसाद उपचारकालागि विराटनगरमा



४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई उपचारको लागि विराटनगर लगिएको छ। माई नगरपालिको समन्वयमा मानव अधिकार मञ्च नेपालले उद्धार गरी बुधबार विराटनगरस्थित मानव सेवा आश्रम लगिएको हो।

दुर्गाप्रसादको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले विराटनगरस्थित मानव सेवा आश्रममा केही दिन राखि मनोबिमर्श चिकित्सकमार्फत समेत उपचार गरिने मानव अधिकार मञ्चका निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए। केही दिनको उपचारमा पनि स्वास्थ्यमा सुधार नभए काठमाडौं लगेर थप उपचार गरिने उनले जनाए।

पछिल्लो समय प्रभावकारी उपचार नपाएपछि दुर्गाप्रसाद मानसिक रुपमा विक्षिप्त बनेका थिए। परिवारसँगै लुम्बक बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको छ। उनी तीव्र मानसिक बिरामीझैँ देखिएका छन्।

नालीको फोहोर पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाहा नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेको भतिज गोपाल तिम्सिनाले बताए। मानसिक रुपमा विक्षिप्त बनेका उनी गत आइबार घरबाट हराएका थिए। करिब ८ घन्टापछि प्रहरीको सहयोगमा उनलाई मेची राजमार्गको जौवारीमा फेला पारिएको थियो।

दुर्गाप्रसादको उपचार, खाना र यातायात खर्च बापत थप ५० हजार माई नगरपालिले प्रदान गरेको नगर प्रमुख दीपक थेवेले बताए। यसअघि गत बैशाखमा माई नगरपालिकाले उपचार र यातायात खर्च बापत ६७ हजार रुपैयाँ प्रदान गरेको थियो।उनलाई गत वैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको थियो। थप उपचारपछि दुर्गाप्रसादको अवस्थामा सुधार आउने अपेक्षा राखिएको गोपालले बताए। टाइम्स अफ प्रदेशबाट

[email protected]

Comment