इलाम
विपद् व्यवस्थापन समिति माई नगरपालिका इलामको बिहीबार बसेको बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । नगर विपद् समितिले पूर्ण लकडाउनको कार्य प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको भए पनि कोभिडको संक्रमण नियन्त्रण हुनुको सट्टा बढ्दै गएको पाइएकाले जिल्ला प्रशासन कार्यालयले जारी गरिएको आदेशमा भएको भएको सर्त अनुरूप २०७८ भाद्र १० गते राति १२ बजे सम्मको समय सीमालाई कायम गर्दै थप सर्त समेत लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
माईका मेयर दीपक कुमार थेबेको अध्यक्षतामा सरोकारवालाहरूको बैठकले माई नगरपालिका भित्र बिरामीलाई माई अस्पताल र छिमेकी जिल्ला अस्पताल लैजानु पर्ने भएमा एम्बुलेन्स मात्र प्रयोग गर्ने तर एम्बुलेन्स नभएको खण्डमा मात्र माई नगर अस्पतालको सिफारिसका आधारमा पास लिएर लैजान पाइने, स्थानीय स्तरमा रहेका औषधी पसलमा नपाइने औषधी खरिद गर्न माई नगर अस्पतालमा सम्पर्क गर्ने, उक्त औषधी बिमा बाट सम्भव भए बिमा मार्फत माई नगर अस्पतालले उपलब्ध गराउने र उपलब्ध नभए स्वास्थ्य शाखामा समन्वय गरी स्वास्थ्य शाखा मार्फत खरिद गर्न सहजीकरण गरिदिने, झापा र इलामका अन्य पालीकाबाट माई नगरपालिकाको बाटो प्रयोग गरी यात्रु ओसार प्रसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीका लागि प्रक्रिया अघि बढाउने निर्माण गरेको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो । लकडाउन उल्लङ्घन गर्ने जो कोहीलाई संक्रमण रोग ऐन २०२१ बमोजिम १ लाख ५० हजार सम्म जरिवाना गरिने बताइएको छ ।
कोरोनाको दोस्रो भेरिएन्ट सुरु भए देखि बिहीबार सम्म माईमा ४ सय ५७ जना संक्रमित भएकोमा ३ सय १२ जना निको भई सकेका छन् भने २ सय ४५ जना सक्रिय संक्रमित रहेका छन्। अहिले कोरोनाको कारण ६ जनाको ज्यान गइसकेको छ।गत भाद्र १ गते इलामका प्रमुख जिल्ला अधिकारी द्वारा जारी आदेशमा तरकारी, खाद्यान्न, फलफूल, दूध र मासुको पसल बिहान ९ बजे सम्म खोल्ने, परीक्षार्थी र परीक्षामा खटिने कर्मचारीले परिचय पत्रका आधारमा आवत जावत गर्न सकिने, बैक आलोपालो प्रणाली अनुरूप १० बजे देखि १२ बजे सम्म अति आवश्यक बैङ्क कार्य गर्न लगायत निर्णय भएको जनाइएको थियो ।
मेयर दीपककुमार थेबेको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली काँग्रेसका नगर सभापति कृष्ण खाकी, नेकपा एमालेका सचिव हेम बहादुर लायो, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, रेडक्रस सोसाइटी दानावारि सभापति मित्र प्रसाद गौतम, वडाध्यक्षहरू मुखराज आङ्गदम्बे, सूर्य प्रसाद दुलाल, शेर बहादुर एक्तेन, सशस्त्र प्रहरी बल दानावारि बेस क्याम्पका प्रमुख देवेन्द्र प्रसाद मैनाली, लोदिया प्रहरी चौकी प्रमुख पदम सुन्दर लिम्बु, माई अटो प्रालिका अध्यक्ष भीम पाण्डे, माई नगर प्रशासन शाखा प्रमुख नवीन कुमार पौड्याल, यातायात व्यवसायीहरू, पत्रकार लगायतको सहभागिता रहेको थियो । टाइम्स अफ प्रदेशबाट