1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार १३ बुधबार

दोस्रो जनआन्दोलनका शहीद सुरजकी मातालाई भद्रपुर नगरले मासिक १० हजार दिने



झापा –

भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका शहीद परिवारलाई मासिक १० हजार दिने निर्णय गरेको छ । भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका शहीदलाई मासिक १० हजार वार्षिक एक लाख २० हजार दिने निर्णय गरेका हुन् । दोस्रो जनआन्दोलनमा सेनाको गोली लागि सहादत प्राप्त गरेका भद्रपुर ६ निवासी सहिद सुरज विश्वासको माता मिना विश्वासको जीविकोपार्जन तथा औषधि उपचार खर्च बापत सो रकम दिने निर्णय गरिएको नगरका मेयर श्रेष्ठले जानकारी दिए । नगरपालिकाले वार्षिक रुपमा सहिद माता मिनालाई स्वास्थ्य बिमाको नवीकरण पनि गरी दिइरहेका छन् ।

सहिद सुरजका पिता शान्ति विश्वासको चार वर्ष निधन भएपछि आमालाई जीविकोपार्जन तथा औषधि उपचारमा गर्न आर्थिक समस्या भइरहेको थियो । राज्यले वार्षिक रुपमा ७ हजार उपलब्ध गराउँदै आए पनि त्यो रकम अपुग भएकोले नगरपालिकाले थप रकम सहयोग गरेको जनाइएको छ । २०६३ वैशाख ६ गते सरकारी फौजको गोली लागेर उनी सुरज शहीद भएका थिए ।

उनी पेसाले चालक थिए । त्यस्तै नगर कार्यपालिकाको बैठकले मजदुरसँग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्न विनियोजित बजेटले स्वास्थ्य बिमाको सट्टा नगर क्षेत्रका निर्माण, चिया, कारखाना र कृषि श्रमिकहरूको सेवा सुरक्षा व्यवस्थापन गर्नुपर्ने भएकोले सामाजिक शाखाबाट कार्यविधि कानुन निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रमा बसोबास रहेका आदिवासी (राजवंशी) र लोपोन्मुख सन्थाल जातीको स्तम्भ लागत अनुमान तयार गरी नगरपालिकाको नयाँ भवन परिसरमा निर्माण गर्ने र हिंसा पीडित तथा मानव बेचबिखन पीडित महिला बालबालिका र किशोर किशोरीहरूका लागि अल्पकालीन सेवा केन्द्र सेफ हाउस सञ्चालनका लागि मानव अधिकारका लागि एकल महिलालाई नै निरन्तर रुपमा सञ्चालन गर्न दिने निर्णय गरिएको जनाइएको छ ।

Comment