झापा-
स्थानीय तहमा हुने एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गर्दै झापाको अर्जुनधारामा ‘क्याम्प’ को कार्य थालनी भएको छ । प्रदेश १ सरकारको सुशासन तथा सेवा प्रवाहमा सुधार तथा सुदृढीकरण गरी संघीयात्मक व्यवस्था सवल गर्ने उद्देश्यले झापाका चार वटा स्थानीय तह र प्रदेश सरकारले विपद् व्यवस्थापन गर्नका लागि कार्य शुरु गरेको हो ।
अर्जुनधारा ११ स्थित देउनिया टोल छेउमा विपद् व्यवस्थापनको कार्यालय रहने गरी आजबाट काम सुरु भएको छ । जसको पहिलो चरणमा माटो परीक्षण शुरु गरेको हो । उक्त स्थानको दुई विगाह क्षेत्रको ५ स्थानबाट माटो परीक्षण सुरु भएको छ । अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकासहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ को संयुक्त पहलमा विपद् व्यवस्थापन गर्ने कार्य अघि बढाइएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले जानकारी दिए ।
विपद् व्यवस्थापनका लागि आवश्यक सेवा प्रवाह गरिने उद्देश्यले स्वीजरल्याण्ड सरकारबीच प्रदेश सहयोग कार्यक्रम अन्र्तगत योजना अघि सारिएको बताइएको छ । माटो परीक्षण सुरु भएपछि अर्जुनधाराका प्रमुख रानासहित प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईले निरीक्षण गरेका छन् ।
एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्यलाई तालिमको व्यवस्थापन गर्नेछ । यस्तै, क्याम्पमा आवश्यक एम्बुलेन्स, दमकल र शव वाहनका लागि पहल गर्ने सम्झौता भएको छ । उक्त क्षेत्रमा स्थायी संरचना निर्माणका लागि प्रदेश सरकारका तर्फबाट ५० प्रतिशतसम्म रकम उपलब्ध गराउने पनि यसअघि सम्झौता भएको थियो ।
-साझाअनलाईनबाट