झापा-
ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३।५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ ।
उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको स्विचयार्डमा जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पाँचथर जिल्लास्थित अमरपुर सवस्टेशनमा जडान गरिने आयोजना सञ्चालक संस्था स्नो रिभर्स प्रालिले जनाएको छ । प्रालिका अनुसार आयोजनाको खेबाङ–याम्फुदिन क्षेत्रमा रहने विद्युत्गृहदेखि १८ किमी लामो प्रसारण लाइनमार्फत १३२ केभीको अमरपुर सवस्टेशनमा उत्पादित विद्युत् जडान हुनेछ । आगामी २०८० साल वैशाखभित्र आयोजना निर्माण सम्पन्न गर्ने पनि प्रालिले लक्ष्य राखेको छ ।