झापा –
बिर्तामोड नगरपालिका वडा नं ९ अन्तर्गतका अधिकांश टोल विकास संस्थाहरुको नामाकरण अग्रज राजवंशीका नामबाट गरिएकोे छ ।
स्थानीय निर्बाचनपछि बिर्तामोड नगरपालिकाको टोल विकास संचालन कार्यविधि २०७५ अनुसार टोल विकास संस्थाहरु गठन भएर संचालनमा छन् ।
बिर्तामोड नगरपालिका वडा नं।९ का वडा सचिव सुवास बिकले नगर र वडाका गतिबिधि व्यक्ति–व्यक्तिबीच पुगोस् भन्ने उद्धेश्यले टोल विकास संचालन कार्यविधि अनुसार टोल विकास संस्थाहरु गठन गरिएको बताए । जसअन्तरगत अहिले वडामा १६ वटा टोल विकास संस्था रहेका छन् । तीमध्ये अग्रज राजवंशीका नाममा ९ वटा टोल विकास संस्था रहेको देखिन्छ । साविकको श्रेस्ता र पुराना चलनचल्तीका भाषाको आधारमा ती टोलहरु गठन गरिएको सोही वडामा गठित धनबिरकामत पूर्व कोलाटोली टोल विकास संस्थाका अध्यक्ष गोपाल खरेलले बताए ।
वडा न।९ अन्तरगत रहेका टोल विकास संस्थामध्ये धनवीरकामत पूर्व कोलाटोली टोल विकास संस्था, टाँगाबारी टोल विकास संस्था, लखिबारी टोल विकास संस्था, तल्लो लखिबारी टोल विकास संस्था, नडियाबाडी टोल विकास संस्था, बद्रीबाडी टोल विकास संस्था, मेथीबारी केरकेरुबारी टोल विकास संस्था, सतालसिंहबारी टोल विकास संस्था र पटुबारी टोल विकास संस्था राजवंशी समुदायका अग्रज देउनियाहरुको नामबाट नामाकरण गरिएको पाईएको छ ।
धनवीरकामत पूर्व कोलाटोली धनवीर राजवंशीको नाममा नामकरण गरिएको संस्थाका अध्यक्ष गोपाल खरेलले बताए । संस्थाले नाम परिवर्तन गरी त्रिवेणी टोल राख्नको लागि बोर्ड तयार गरेता पनि श्रेस्ता हटाएर पहिचान दिलाउन नयाँ नामले सम्भव नभएपछि सोही नाम राख्नु परेको खरेलले बताए । धनवीर राजवंशीका छोरा कृष्णदेव राजवंशीका अनुसार धनवीर राजवंशी सो ठाउँका ७० विगाहा जमिनका मालिक थिए । धनवीर र अर्जुन गरी दुई दाजुभाइ सो ठाउँका ७० बिगाहा जमिनका जमिन्दार रहेको पाईएको छ ।
अन्य ८ वटा टोल विकास संस्था क्रमश ः टाँगाबारी टाँगालाल राजवंशीको नामबाट, लखिबारी र तल्लो लखिबारी लखि राजवंशीको नामबाट, नडियाबारी नडियालाल राजवंशीको नामबाट, बद्रीबारी बद्रीलाल राजवंशीको नामबाट, मेथीबारी केरकेरुबारी केरकेरु राजवंशीको नामबाट, सतालसिंहबारी सतालसिंह राजवंशीको नामबाट र पटुबारी पटु राजवंशी नामबाट राखिएको सो टोल विकास संस्थाका अध्यक्षहरुले जनाएका छन् । तत्कालीन झापा, मोरङ, सुनसरीमा राजवंशी, धिमाल र सन्थाल जातिको वर्चस्व थियो । यसैअनुरुप गाउँटोलका ती नामहरु तत्कालीन प्रख्यात व्यक्तिका नामबाट राखिएका हुन् । अग्रज राजवंशीहरुको झापा जिल्लामा सय बर्षभन्दा लामो ईतिहास छ ।