झापा –
शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत बाल गृहमा आश्रित अपाङ्गता भएका बालबालिकालाई खाद्य सहायता गरेको छ । बाल दिवसको अवसरमा झापाको अर्जुनधारा–६ स्थित कप्तानवारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई शिक्षा बहुउद्देश्यीयले मंगलवार खाद्य सहायता उपलब्ध गराएको हो ।
केन्द्रमा आश्रित अपाङ्गता भएका बालबालिकाको आवश्यकता बुझेर खाद्यान्नसहित दैनिक उपभोग्य र स्वास्थ्य तथा सरसफाई सामग्री उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने बताए । ‘संस्थाको नवौँ वार्षिकोत्सवको अवसरमा अपाङ्गता भएका बालबालिकालाई थोरै भएपनि सहयोग गरेका हौँ, अध्यक्ष न्यौपानेले भने, ‘यो हाम्रो समाजप्रतिको उत्तरदायित्व पनि हो ।’
सरोकार केन्द्रमा झापा र पाँचथरका १० जना बालबालिका आश्रित रहँदै आएका छन् । दाताको सहयोगका भरमा केन्द्र सञ्चालन हुँदै आएको छ । दाताले केन्द्रको आवश्यकताका आधारमा सहयोग गर्दै आएको संस्थाका सञ्चालक कृष्ण दुलाल बताउँछन् । ‘दाताले के आवश्यक छ भनेर बुझेपछि सहयोग गर्दै आउनु भएको छ’, दुलालले भने, ‘शिक्षा बहुउद्देश्यीय सहकारीको सहयोगप्रति आभारी छौँ ।’
आवासीय रुपमा रहेका बालबालिकालाई अहिले दैनिक उपभोग्य सामानको खाँचो रहेको बुझेपछि सहकारीले चामल, चिउरा, दाल, तेल, चिनी, मसला, चना, चियापत्ती आलु लगायतका खाद्य सामग्री उपलब्ध गराएको संस्थाका सञ्चालक सदस्य हेमराज मिश्रले बताए । उनका अनुसार मास्क, सेनिटाइजर, फिनेल, सावुनसहितका स्वास्थ्य तथा सरसफाई सामग्री पनि प्रदान गरिएको छ ।
खाद्य सहायता कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका वडा सदस्य अर्जुन मेचेले सदस्यको हित र सामाजिक उत्तरदायित्व निर्वाहमा शिक्षा बहुउद्देश्यीय सहकारीको योगदान प्रशंसनीय रहेको बताए । कार्यक्रममा संस्थाका लेखा समिति सदस्य यामनाथ खरेल, शिक्षा शिकोप निकेतन मण्टेश्वरीकी प्रिन्सिपल पवित्रा कट्टेल, कर्मचारी दुर्गाप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो । प्रिन्सिपल कट्टेलले व्यक्तिगत रुपमा केन्द्रलाई एक हजार रुपैयाँ सहयोग गरेकी छन् ।