झापा –
ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या भएको छ ।
सो आगलागीमा परी जलेर चारजना घाइते भएका थिए ।अर्जुनधारा ७ का रोम खनालको घरमा भएको सो आगलागीमा परी घरधनी खनाल,उनी श्रीमती दुर्गा खनाल , छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए । मंगलादेवी सामान्य घाइते भएकी थिइन् भने बाँकी तीनजना गंभीर घाइते भएका थिए । आगलागीमा परी रोमको शरीरको ५० प्रतिशत , दुर्गाको ३० प्रतिशत र पंकजको १५ प्रतिशत भाग जलेको छ ।
तीनैजनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये गम्भीर घाइते भएका रोम र दुर्गाको आइसीयू कक्षमा उपचार भइरहेको छ । पंकजको जेनेरल वार्डमा उपचार भइरहेको छ ।
रोमको उपचारमा करिब १० लाख, दुर्गाको उपचारमा करिब ८ लाख र पंकजको उपचारमा करिब ४ लाख रुपैयाँ खर्च हुनसक्ने अस्पतालको पूर्वानुमान छ । आगलागीबाट खनालको घर ध्वस्त भएको छ । सामान्य अबस्थाका खनाल परिवारको आर्थिक अबस्थाले नधान्ने भएपछि सहयोगका लागि आव्हान गरिएको छ । त्यसका लागि एक सहयोग समिति गठन गरिएको आफन्त टंकप्रसाद खनालले बताए ।
उनले आफ्नो परिवारमा परेको समस्यालाई हल गर्न छरछिमेकी, साथीभाइ, आफन्तसहित धेरै सहयोगी मन जुटेकोमा हार्दिक आभार व्यक्त गर्दै विपत्तिमा सहयोगको लागि अपिल गरेका छन् । यसैबीच समाजसेवी तथा अभियन्ता उज्वल विक्रम थापाले औषधि उपचारका लागि ५० हजार रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरेका छन् ।
pratidindaily.com बाट