झापा-
संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लोकबहादुरका बुबा र दुईजना काकालाई आइतबार (हिजो) प्रहरीले पक्राउ गरेको हो ।
यसअघि भदौ् ३१ गते लोकबहादुरका भाइ नरेश मृतकमध्येकी एक रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइलसहित पक्राउ परेका थिए । मादी नगरपालिका–१ स्थित उम्लिङमा भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको चिरपटले हानेर हत्या भएको थियो । हत्या गरिएकी रञ्जना कार्कीको मोवाइल नरेशको साथमा भेटिएको थियो । यसअघि हत्या आरोपमा पक्राउ परेका लोकबहादुरले आफूलाई कार्की परिवारले निरन्तर हेप्दै आएकाले हत्या गरेको बताएका थिए ।
उनले तेजबहादुरलाई मात्रै मार्ने योजना बनाएको भए पनि आफ्नो पोल खुल्ने डरले देख्ने जति सबैको चिरपटले हानेर हत्या गरेको र सो चिरपट जलाएको प्रहरीसँग बताएका थिए । प्रहरी अनुसन्धानमा क्रममा हत्यामा लोकबहादुरका परिवारका अन्य सदस्यको संलग्नता रहेको खुलेको हो । एक उच्च प्रहरी अधिकृतले भने, “अनुसन्धान गर्दै जाँदा लोकबहादुरका भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता देखियो । सबैले मिलेर मारेका रहेछन् । पारिवारिक कारणले नै हत्या भएको देखियो । कसैले मान्छे समातेको, कसैले चिरपटले हानेको अनुसन्धानबाट खुलेको छ ।”
उनीहरुले लखेटी–लखेटी ६ जनाको हत्या गरेको खुलेको छ । प्रहरीले हत्याकाण्डबारे अझै अनुसन्धान जारी रहेको बताएको छ । घटनाको प्रदेश प्रहरी, जिल्ला र सीआईबीको टोलीले अनुसन्धान गरेको थियो ।