झापा-
झापा गाउँपालिका–१ सानो माई खोलामा महिलाको हत्या गरि शवलाई खोलामा बगाइदिने ४ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा ४ जनालाई सार्वजनिक गरेको हो ।
खोलामा नाम वतन नखुलेको शव भन्दै तत्काल समाचार आएपछि झापा प्रहरीले यो घटनालाई अलग्गै हिसावले अनुसन्धान थालेको थियो । शव फेला परेको केहि दिनमै झापा प्रहरीले सफलता पाएको छ । शव झापा गाउँपालिका १ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५० वर्षीया डोली भन्ने धोन्नी टुडु रहेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । हत्या आरोपमा प्रहरीले मृतकको भान्जा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष २३ को ऐतवार सोरेन, मृतकको सौताको भाई झापा गाउँपालिका १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ । यस्तै, घटना लुकाउन सहयोग गर्ने सोही ठाउँका ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतारलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले महिलालाई धारिलो हतियार प्रयोग गरि शरिरलाई टुक्रा–टुक्रा बनाएको थिए ।
प्रहरीका अनुसार मृतकका देवर सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष अन्दाजी ४५- ५० का मण्डल हेमरम (सतार) फरार रहेको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । महिलाको शव गत भदौ २५ गते सानो माइमा फेला परेको थियो । झापा गाउँपालिका १ सानोमाईखोलामा टाउको,घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको लास स्थानीयले फेला पारेका थिए । स्थानीयले लास देख्नासाथ प्ररहीलाई खवर गरेका थिए । झापा प्रहरी शवको प्रकृति हेरेपछि घटना रहस्यमय हुन सक्ने भन्दै अनुसन्धान थालिएको थियो । घटना रहस्यमय लागेपछि जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट घटना सम्बन्धमा थप अनुसन्धान गर्नको लागि टोली खटाईएको थियो । अनुसन्धानका क्रममा महिलाको हत्या भएको खुलेको थियो । २४ गते हत्या गरेर खोलामा फालिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मृतक महिलाको श्रीमान वितेको १५ दिनपछि हत्या भएको प्रहरीको भनाई छ । छोराछोरी नभएकोमा हेपिएकी महिलासँग देवर र सोताको घरायसी विवाद रहेको प्रहरीको भनाई छ । उनलाई परिवारभित्रै बोक्सीको आरोप लगाउने गरिएको खुलेको छ ।