1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १२ शुकर्बार

सिटौलाको गृह नगरमा सभापति पदमा पाँच जनाको उम्मेदवारी



झापा –

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।कांग्रेसको १४ महाधिवेशन अन्तरगत गाउँ तथा नगरमा नेतृत्व चयनका लागि शनिबारदेखि पालिका तहको अधिवेशन सुरु भएको हो । नगरमा सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा चुनावी प्रक्रियामा गएको छ । सभापति, सचिव र सहसचिव मुख्य ५ पदमा १३ जनाको उम्मेदवारी परेको छ ।

उपसभापति पदमा दुई जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत मञ्जु दाहालले जानकारी दिइन् । उपसभापति निर्वाचित हुनेमा रमेशचन्द्र झा र भरतचन्द्र गुृरुङ रहेका छन् । उपसभापति पदबाट रेखा अधिकारीले उम्मेदवारी फिर्ता लिएकी थिइन् । त्यस्तै प्रत्यक्ष महिला सदस्य खुलामा १०, प्रत्यक्ष सदस्य खुलामा २०, समावेशी खस आर्य महिलामा ३, खस आर्य खुलामा ४, समावेशी आदीवासी जनजातिमा महिला ५, आदिवासी जनजाति खुला ५, मधेशी महिला र खुला १÷१, दलित खुला १, मुस्लिम महिला १, अपाङगता महिला र खुला १÷१ जना र्निविरोध निर्वाचित भएका छन् ।

नगर सभापित एक पदका लागि बन्धु कार्की, मदनबहादुर बस्नेत, ज्ञानबहादुर चौहान, भरत प्रसाँई र रामबहादुर कँडेलले उम्मेदवारी दिएका छन् । सचिव दुई पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिव पदमा कविन राई, दुर्योधन कार्की, अनिता रिजाल, टेकबहादुर पाण्डे, उत्तम कोइराला र सन्तकुमार राजवंशी(सन्तोष)ले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सहसचिव दुई पदका लागि चार जनाको उम्मेदवारी परेको छ । सहसचिव पदमा मणिकुमार राई, सन्तोष थापा, नन्दलाल राजवंशी र दीपेशकुमार साहाले उम्मेदवारी दिएका छन् । भद्रपुरस्थित एनसीडिसी भवनमा काँग्रेस नेतृत्व चयनका लागि चुनावी महोल तातिएको छ । सबै उम्मेदवार आफु जित्ने आत्म विश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन् । चुनावी प्रक्रियामा जानुअघि दुई दिन नेता सिटौला गृह नगर आएका थिए । सिटौलाले सर्वसम्मत नगर नेतृत्व चयनका लागि आकांक्षी उम्मेदवारहरुलाई पटक–पटक बोलाएर छलफल गरेका थिए । तर, आकांक्षी उम्मेदवारहरुले आआफ्नो पदमा दावीसँगै अडान छाड्न मानेनन ।

नेता सिटौलाको कुरा आकांक्षी उम्मेदवारहरुले नमान्दा अन्नतः सभापति, सचिव र सहसचिव पदका उम्मेदवार चुनावी मैदानमा गएका हुन् । नगरमा २३९ मतदाता रहेको छ । आइतबार हुने निर्वाचन प्रक्रियाबाट बाँकी पदको चिनोफानो हुने छ ।

Comment