झापा-
झापाका चार पालिकामा कांग्रेसले नेतृत्व सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेका छन् । हल्दिबारी गाउँपालिकामा गङ्गा प्रसाईंको नेतृत्वमा निर्विरोध समिति चयन भएको छ । मनोनयन दर्तामा भेला भएका ९० प्रतिशत क्षेत्रीय प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका थिए ।
कचनकबलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजबंशी सचिब, सागर राजबंशी र रुद्र उप्रेती सहसचिवमा निर्बिरोध चयन भएका छन् भने उपसभापतिमा ३ जनाको उम्मेदवारी परेको र सहमतिको पहल भइरहेको क्षेत्रीय सचिब गीताप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी, झापाको बुद्धशान्तिको सभापतिमा चक्र शेर्मा, सचिबमा कृष्ण खतिवडा र मदन मगर निर्बिरोध भएका छन् । उपसभापतिमा तीन र सहसचिवमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । झापा गाउँपालिकामा यसअघि नै सागीरथ गणेशको नेतृत्वमा निर्बिरोध नेतृत्व चयन भइसकेको थियो ।
भद्रपुरमा नगरपालिकामा सभापतिमा ५, उपसभापतिमा ३, सचिवमा ६, सहसचिवमा ४ जनाको मनोनयन दर्ता भएको छ । अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको छ । अन्य पदमा निर्विरोध नेतृत्व चयन भइसकेको छ ।
यस्तै, नेपाली काँग्रेसको बिर्तामोड नगर अधिवेशनमा दुई वटा प्यानलले उम्मेद्वारी दिएका छन् । कुलप्रसाद संग्रौला र भोजराज सिटौला नेतृत्वको दुई वटा प्यानलले उम्मेद्वारी दिएका हुन् । नगर सभापतिमा संग्रौला र सिटौला, उपसभापतिमा पशुपति राजवंशी, बलराम कार्की, राजकुमार राजवंशी र सूर्यप्रसाद कन्दङ्वा, सचिवमा अच्युत दाहाल, उत्तम खनाल, दिवाकर प्रसाई र दिपेन्द्र राउत तथा सहसचिवमा अमोदप्रसाद दाहाल, दिनेश पराजुली, धर्मेन्द्र सिटौला र रमेश चौधरीले उम्मेद्वारी दिएका छन् । निर्वाचन आयोगले केही नगर समिति सदस्य निर्विरोध भएको अन्तिम नामावली प्रकाशन गरेको थियो । तर, त्यसमा त्रुटी भएको भन्दै रद्ध गरिएको छ । ११ पालिकामा भने भोलि मतदान हुने भएको छ ।