झापा-
मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरी हत्या प्रकरणका दुईजना मुख्य अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले योजनाबद्ध हत्याका दुई अभियुक्तलाई मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बू रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा पेस गरेको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार लिम्बूद्धवयको योजना र प्रत्यक्ष संलग्नतामा गत साउन ११ गते दिउँसो छुरा हानेर चौधरीको हत्या गरिएको थियो । प्रहरीको अनुसन्धानबाट लिम्बूद्धवयले घटनाको योजना बनाएर चौधरीमाथि छुरा प्रहार गरेको पत्ता लागेको श्रेष्ठको भनाइ छ । उनका अनुसार स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला १५ जनाको संख्यामा आएको समूहले चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा हानेको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको त्यही दिन झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याउनेवित्तिकै मृत्यु भएको थियो । सुशन उपचारपछि निको भएका छन् ।
घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका थिए । हत्यामा संलग्नमध्ये अहिलेसम्म ८ जना पक्राउ परिसकेको जानकारी डीएसपी श्रेष्ठले दिए ।
यद्यपि प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिसकेको छ । यसअघि नै पक्राउ परेका ६ जनामध्ये ३ जना अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
अदालतले निशान, अञ्जन र आयुषलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । राकेश, हेमराज र योगेशलाई भने मोरङ अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ । घटनामा संलग्नमध्ये सुमन चौहान, नवीन तामाङ, संजोग अधिकारी, सुमन श्रेष्ठ, मनिष गुरुङ, अजय श्रेष्ठ र बामस मगर फरार छन् । फरार रहेकाहरुको खोजी जारी राखिएको डीएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार फुटबल खेल्ने क्रममा दुई पक्षबीच भएको विवाद हत्यामा परिणत भएको थियो ।