1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

उच्च अदालत विराटनगरको गेटैमा एक व्यक्तिमाथि खुकरी प्रहार



झापा-

उच्च अदालत विराटनगरको गेटैमा एक व्यक्तिलाई खुकरी प्रहार गरी घाइते बनाइएको छ।  ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार उच्च अदालत गेटैमा खुकुरी प्रहार भएको हो। लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छन्।

खुकुरी प्रहार गरिएका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ। लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

किन गरियो लामालाई खुकुरी प्रहार?

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए। मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए।

प्रहरीका अनुसार वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि दुई जना युवाहरूले एक्कासि खुकुरीले आक्रमण गरेको खुलेको छ। खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए। घटना छुट्याउँदा उनको पनि शरीर र कपडाभरी रगत लागेको छ। सरदारले दुई जनाको संख्यामा रहेका युवाले खुकुरीले प्रहार गरेको बताए।

लामाको लगानी रहेको मोरङको कटहरीको इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय विवाद भएको थियो। उद्योगमा दुई वर्षअघि मात्रै लामाले लगानी गरेका हुन्। प्रहरीका अनुसार त्यसअघि उद्योग मोरङको नोचाका मोहम्मद साजितको रहेको खुलेको छ। उद्योगमा साजित र उनकी श्रीमतीको ५०-५० प्रतिशत शेयर थियो। साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आधाआधा शेयर रहेको उद्योग नै पछि ५ वर्षका लागि लामालाई साजितले लिजमा दिएको पाइएको छ। त्यसवापत उनलाई लामाले वार्षिक ५० हजार थान इँटा दिने शर्तनामा थियो।

तर पछिल्लो समय उद्योग एकलौटी बनाउने प्रयास साजितले गरिरहेको पाइएको प्रहरीको भनाइ छ। उद्योगबाट लामालाई निकाल्न र लामाको नाममा रहेको शेयर एकलौटी बनाउन  साजितले विभिन्न खेल खेलिरहेको पाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दुई जनाबीच यही विषयलाई लिएर विवाद भइरहन्थ्यो।

इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको प्रहरीको दाबी छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनामा सजितको योजना वा संलग्नता छ कि छैन भन्ने बारेमा खुल्न बाँकी रहेको बताए। घटनापछि साजित सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ। लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय कार्कीलाई प्रहरीले घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरिसकेको छ।

भाग्दै गरेको अवस्थामा कार्कीलाई विराटनगरको कोसी अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका अर्का एक युवा फरार छन्। पहिचान खुल्न बाँकी रहेका ती युवाको खोजी तीव्र पारिएको श्रेष्ठले बताए। 

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment