झापा –
यस अघि २ वटा वडा स्तरिय फुटवल प्रतियोगिता गराइसकेको झापाको बिर्तामोड नगरपालिकाले तेस्रो प्रतियोगिता आजबाट गर्ने भएको छ । तेस्रो वडा स्तरीय फुटवल प्रतियोगिता–२०७८ नाम दिएको प्रतियोगिता १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा नगर भित्रका १० वटौ वडा सहभागी हुने अध्यक्ष टिका संग्रौलाले जानकारी दिए । उनका अनुसार पहिलो दिन नगरपालिकाका कर्मचारी र समितिबिच मैत्रीपूर्ण खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेताले नगद ५० हजारसहित ट्रफी मेडल पुरस्कार पाउने छन् । ६ लाख खर्च अनुमान गरिएको प्रतियोगिता बिर्तामोड १० को महेन्द्र ज्योती माविको खेल मैदानमा हुने सचिव केशव भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो खेल डोमालाल, दोस्रो शहीद नेत्र पार्कमा गरिएको थियो ।
बिर्तामोड नगर खेलकुद विकास समितिले वर्षेनी क्रिकेट, भलिवल, मिनि म्याराथुन,, तिरधनुष, कँराते आयोजना गर्दै आएको छ । तीन वटा आर्थिक वर्षमा समितिले १ करोड २० लाख बजेट प्राप्त गरिसकेको छ । समितिका अध्यक्ष संग्रौलाले बिर्तामोडको खेल क्षेत्रको विकासमा समिति दृढ ढंगले लागिपरेको बताएका छन् ।
प्रतियोगितामा मैत्रिपूर्ण सहित जम्मा १० वटा खेल हुने जनाइएको छ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले १८ गते खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको समितीले जनाएको छ । खेलको सबै तयारी सकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।