झापा-
प्रदेश १ मा बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जनशक्ति परिचालित भएका हुन्।
बाढीपहिरोमा बेपत्ता भएकोको खोजी, मृतकको संख्या यकिन गर्नेदेखि लिएर अवरुद्ध सडक सञ्चालन तथा सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो।
नेपाल प्रहरीले ५ हजार ९५ जना र सशस्त्र प्रहरीले २ हजारभन्दा बढीलाई बाढी एवं पहिरो प्रभावितको उद्धारमा खटाएको छ। नेपाल प्रहरीका प्रदेश १ प्रमुख डीआईजी अरुणकुमार बिसीले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उद्धारलाई तीव्र एवं प्रभावकारी पारिएको जानकारी दिए।
उनले भने, “अहिले जोखिमको अधिक सम्भावना रहेका स्थानबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ।’ वर्षा नरोकिएका स्थानमा हुनसक्ने क्षतिलाई मद्देनजर गर्दै जोखिम न्यूनीकरणका लागि प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको बिसीको भनाइ छ।
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले अरू सुरक्षानिकाय र स्थानीय तहसँग समन्वय गर्दै बाढीपहिरोमा फसेकाको उद्धार तीव्र पारिएको बताए।
डीआईजी गिरीका अनुसार डुबानबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर विस्थापितलाई सुरक्षित स्थानतर्फ सारिएको छ। बाढीपहिरोमा परेर हालसम्म प्रदेश १ मा ६२ जनाको मृत्यु भइसकेको छ भने १३ जना बेपत्ता भएका छन्। २० जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरोमा परेर पाँचथरमा सबैभन्दा धेरै २८ जनाको मृत्यु भएको छ। १० जना घाइते र ६ जना बेपत्ता छन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा ठूलो मानवीय क्षति भएको हो।
त्यस्तै इलामको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी एवं पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ। पहिरोमा परेर इलाममा ५ जना घाइते र १ जना बेपत्ता भएका छन्।
धनकुटाको चौबीसे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा ८ जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता भएका छन्। मोरङको विराटनगर महानगरपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका, उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा १/१ जनाको मृत्यु भएको छ।
बाढीका कारण सयौं घर डुबानमा परेका छन्। बाढी र पहिरोले कैयौं सर्वसाधारणलाई घरबारविहीन बनाएको छ। प्रहरीका अनुसार बाढी र पहिरोका कारण ४ हजारभन्दा बढी सर्वसाधारण विस्थापित बनेका छन्।
प्रदेश १ मा बाढी र पहिरोले कति क्षति गरेको छ भन्ने यकिन विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१