1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

बिर्तामोड नगर कार्यपालिका सदस्यहरुको सपथ ग्रहण



झापा । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराइएको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईले सपथग्रहण गराउनु भएको हो । कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा यमुना देवी आचार्य,तिला गौतम,निर्मलादेवि सुनार,लक्षिमा खतिवडा,संगीता सिवा,सिता ढुङ्गाना वि.क,शर्मिला राजवंशी र जगतवन्धु राजवंशी रहनु भएको छ ।

सपथग्रहण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

सपथग्रहण पछि कार्यपालिकाको बैठक समेत बसेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९/८०को बजेट,नीति तथा कार्यक्रम लगायतका विभिन्न विषयमा छलफल भयो ।

बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जेठ १९ र २० गते पञ्जिकरण सहितको २ दिने अभिमुखिकरण तालिमको आयोजना गर्ने निणर्य गरेको छ । यस्तै बैठकले वडा नम्बर ३,४,५ र ६मा पर्ने हर्कलाल सडक मार्ग सडक, वडा नम्बर ५को कन्काई मार्ग सडक, वडा नम्बर ९ मा पर्ने शहिदचन्द्र मार्ग सडक, वडा नम्बर ४मा पर्ने विद्युत प्राधिकरण दक्षिण नेकपा एमालेको पार्टी कार्यालय हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने सडक, वडा नम्बर ७ को गरामनि बजार उत्तर भुसावाडी जोड्ने सडक, वडा नम्बर १ को नचानुटोलहुँदै बैँसावाडी ठाकुर मन्दिर जाने सडक र घाग्रा, देउनिया, अदुवा खोला कटान नियन्त्रण योजनाहरुका लागि प्रदेश सरकारसंग माग गर्ने निणर्य गरेको छ ।

यस्तै बैठकले नगरपालिका क्षेत्रभित्रका अति आवश्यकिय स्थानमा सडक मर्मत तथा स्तरोन्नति गर्न आवश्यक भएकाकारण ग्राभेलको व्यवस्था गर्न नगरप्रमुखलाई जिम्मेवारी दिने निणर्य गरेको छ । जनप्रतिनिधिहरु नव निर्वाचित भएपछिको यो दोस्रो कार्यपालिका बैठक हो । यस अघि जेठ ११ गते पहिलो बेठक सम्पन्न भएको थियो ।

Comment