1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

बिर्तामोडमा MPDP कार्यशाला गोष्ठी सुरु



झापा । बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना  MPDP दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी सुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबार देखि सुरु भएको गोष्ठीमा नगरप्रमुख,उपप्रमुख सहित वडाध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो गोष्ठीमा बिर्तामोड नगरपालिकालाई अब कस्तो बनाउने भन्ने विषयमा छलफल गरि योजना तयार पार्ने बताउनु भयो ।

पहिलो एक वर्षमा गर्न सक्ने कामलाई वर्गीकरण गरेर ५ वर्षको खाका तयार पार्ने बताउँदै उहाँले स्वास्थ्य,शिक्षा,कृषि,सामाजिक,भौतिक पूर्वाधार,वैज्ञानिक कर प्रणाली,वन तथा वातावरणको संरक्षण,फोहोर व्यवस्थापन,श्रोत परिचालन लगायतका विषयमा आवधिक योजना निर्माण गरिने बताउनु भयो ।

नगरप्रमुख प्रसाईले विज्ञहरुले दिएको महत्वका विषयवस्तु र सुझावलाई ग्रहण गर्दै गोष्ठीमा ध्यान दिन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कार्यशाला गोष्ठीमा बिर्तामोडको समृद्वि र विकाससंग जोडिएका विषयमा छलफल गरि योजना तयार गरिने बताउनु भयो ।

उहाँले बिर्तामोडलाई भ्रष्टाचार रहित नगरकारुपमा परिचित गराउने बताउनु भयो । आफु भ्रष्टाचार विरोधी भएको जनाउँदै उपप्रमुख संग्रौलाले आफु पनि नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिवद्वता दोहोर्याउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले बिर्तामोड नेपालकै महत्व राख्ने आर्थिक,सामाजिक र राजनीतिक महत्वपुर्ण नगर रहेको बताउनु भयो ।

पहाडी जिल्लामा उत्पादन हुने कृषि जन्य सामाग्री तथा जडबुटीहरु आउने गरेको बताउँदै उहाँले बिर्तामोड भारत,बंगलबादेश,भुटान,पाकीस्तान,चीन लगायतका देशहरुको ट्रान्जीट प्वाइन्टको रुपमा रहेको बताउनु भयो ।

यो ट्रान्जीट प्वाइन्टलाई व्यवसायिक क्षेत्रकारुपमा लिएर अघि बढ्ने हो भने आर्थिक समृद्विको सहि गन्तव्यमा पुग्न सकिने उहाँको धारणा थियो । नगर कमिटी अध्यक्ष भट्टराईले २० वर्षपछि हेर्दा पनि गर्व गर्न लायक गुरुयोजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।

यस्तै राप्रपा नगर कमिटी अध्यक्ष रञ्जु प्याकुरेलले जनताले प्रत्यक्षरुपमा अनुभव गर्न पाउने गरिको गुरुयोजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,लोकतान्त्रिक समाजवादी, मौलिक जरोकिलो लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नगरप्रमुख प्रसाईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमलाई प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।

नगरको विकासमा दीर्घकालिन योजना निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको गोष्ठी असार ३ गतेसम्म चल्ने छ । गोष्ठीमा आर्थिक विकास,सामाजिक विकास,भौतिक पूर्वाधार विकास,वातावरण विकास तथा फाहोर व्यवस्थापन,संस्थागत विकास तथा सुशासनका विषयमा विभिन्न ५ वटा समुह बनाएर छलफल गरिदैछ । पथ–वे नेपाल सुनसरीको सहयोगमा आयोजना गरीएको यस गोष्ठीलाई विज्ञ तारा निरौलाले सहजिकरण गरिरहनु भएको छ ।

Comment