1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने तयारी



बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने बताउनु भयो ।

सोमबार वडा नम्बर २को श्रीहरि सामुदायिक भवनमा आयोजना गरीएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकका उत्पादनहरु कुहिएर जान नदिनका लागि ३ वटा कोल्ड स्टोर र आफ्नै उत्पादनको कृषि संकलन निर्माणका लागि प्राथमिकताका साथ योजना अगाडी बढाउने बताउनु भएको हो ।

विचौलियाकाकारण कृषकहरुले उत्पादन गरेका बस्तुहरु वेचविखन गर्न नसक्नु कृषकका लागि ठुलो असर रहेको भन्दै उहाँले बजार व्यवस्थापनका लागि समेत नगरपालिकाले पहल गर्ने बताउनु भयो ।

सहभागीहरुको जिज्ञासामा बोल्दै नगरप्रमुख प्रसाईले सिमित बजेटकाकारण सबै विकास निर्माणका कार्य एकै पटकमा गर्न नसकिने बताउनु भयो ।

उहाँले आवश्यक बजेट नहुँदा जनताका इच्छा अपेक्षा अनुसार काम गर्न समस्या हुने गरेको धारणा राख्नु भयो ।

नगरप्रमुख प्रसाईले योजना निर्माण स्थलहरुमा सबै परिचय खुल्ने वोर्डहरु अनिवार्य राख्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकामा सेवाग्राहीले सरल र सुलभ तरिकाले सेवा पाउने प्रत्याभुति दिलाउनु भयो ।

सहभागीहरुले राखेको जिज्ञासामा बोल्दै नगर उपप्रमुख संग्रौलाले नगरका सबै वडाहरुमा बजेट समानुपातिक तरिकाले वितरण गरेको बताउनु भयो ।

वडाहरुमा नगरको योजनाहरु समेत रहेको भन्दै उहाँले थप ठुलो विकासको लागि प्रदेश र केन्द्र सरकारसंग माग गर्ने बताउनु भयो ।

भ्रष्टचारको विरोध गर्दै उपप्रमुख संग्रौलाले जनप्रतिनिधिहरुलाई अनावश्यक आक्षेप नलगाउन आग्रह पनि गर्नु भयो ।

सहभागीहरुको जिज्ञासालाई नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले जवाफ दिनु भएको थियो ।

सहभागीहरुले घाग्रा खोलाको पुल, पैनी, डुवान, विपन्न आवास, विद्युत विस्तार, सडक बत्ति, पार्कीङ, विकास, वजेट, कृषि लगायतका विषयमा समस्याहरु राखेका थिए ।

आर्थिक वर्ष २०७८÷०७९को तेस्रो चौमासिक अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई झापा युनेस्को संघ,नेपालले सहजीकरण गरेको थियो ।

Comment