1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार १३ बुधबार

बिर्तामोड नगरपालिकाले गर्यो वडा नम्बर ६ मा बाख्रा वितरण



झापा ।  बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ ।
नगरको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गर्नुभयो ।
समूहमा रहेका १५ जनाले तीन तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् ।
मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यतिनै संख्यामा बाख्रा अर्को समूहलाई हस्तान्तरण गर्नु पर्ने व्यवस्था छ ।
प्रदान गरिएका बाख्रा वडा नम्बर ८ को किशान भिट्टा व्यवसायिक तथा पशुपालन कृषक समूहबाट उपलव्ध गराईएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ यता ७ सय २१ वटा बाख्रा वितरण गरिसकेको छ ।
साथै यस अवधिमा २ सय ४० वटा खोर पनि निर्माण गरीदिएको छ।
बाख्रा वितरण गरेपछि नगरपालिकाले खोर निर्माणसंगै वीमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले ग्रामिण महिलाहरुको आर्थिक उपार्जनका लागि सञ्चालन गरिएको बाख्रा साटासाट कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
उहाँले स्थानीय सरकारको अभ्यास सुरु भएसँगै मेयर पकेट कार्यक्रम सञ्चालन भएको र बाख्रा, बंगुर साटासाट कार्यक्रमले नगरपालिकाको लक्ष्य प्राप्त गरिरहेको धारणा राख्नुभयो ।
महिलाहरुले बाख्रा पालन सुरुगरेपछि छोराछोरीको शिक्षा, चाडपर्व र घर खर्च चलाउन सघाउ पुगेको भन्दै नगर प्रमुख प्रसाईले बाख्रालाई राम्रो पालनपोषण गरेर मनग्य आम्दानी लिन आग्रह गर्नुभयो ।
बिर्तामोडमा बाख्रा पालनमा १५ वटा महिला कृषक समूह रहेको पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो ।
उहाँले यस कार्यक्रम अन्तर्गत कृषकहरुले वार्षिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिनुभयो ।
 नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो ।
आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित बाख्रा वितरण कार्यक्रममा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
Comment