1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार १८ सोमबार

झापामा रगतको अभाव



झापा ।  वर्खायामसँगै झापामा रगतको अभाव भएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिए ।

जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मृगौलाका विरामीलाई डाइलोसिस गर्दा अनिवार्य रगतको आवश्यक पर्ने भएकाले खपत समेत बढेको छ । खपत बढेपछि रगतको हाहाकार जत्तिकै भइरहेको छ ।

रेडक्रस झापा शाखासँग हाल आफ्नो स्टकमा एक सय युनिट रगत मात्र रहेको इन्चार्ज दाहालले बताएका छन् । उनका अनुसार हाल झापामा दैनिक सरदर ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । रेडक्रससँग रहेको रगतले अधिक्तम तीन दिन मात्र थेग्ने उनले बताए । उनले भने ‘हामीसँग भएको रगतले दुई–तीन दिन मात्रै पुग्छ । १४ गते मदन भण्डारी फाउण्डेशनको रक्तदान कार्यक्रम छ, त्यहाँबाट प्राप्त रगतले थप दुई तीन दिन पुग्छ । त्यस पश्चात् झापामा रगतको संकट हुने स्थिति रहेको छ ।’

मदन भण्डारी फाउण्डेशनले प्रत्येक वर्ष असार १४ गते रक्तदान गर्ने गरेको इन्चार्ज दाहालले बताए । यहाँबाट सरदर एक सयदेखि एक सय ५० युनिट रगत संकलन हुने गरेको छ ।

झापामा प्रत्येक वर्ष २० हजार युनिट रगत खपत हुने गरेको छ । जसमध्ये १५ हजार युनिट रगत रेडक्रस झापा शाखाले उपलब्ध गराउँदै आएको छ भने पाँच हजार युनिट रगत रेडक्रस दमक शाखाले उपलब्ध गराउने गरेको छ ।

इन्चार्ज दाहालका अनुसार झापामा रक्तदाताको अभाव रहेकाले रगतको अभाव हुने गरेको छ । झापामा कम्तीमा पाँच हजार जना नियमित डोनरको आवश्यकता पर्दछ । तर, अहिले झापामा एक हजार जना मात्रै नियमित रक्तदाताहरु रहेका छन् । झापामा कुल रक्तदाता (नियमित, अनियमित) को संख्या करीब छ हजार जना रहेको छ । हाल उपलब्ध रक्तदाताको संख्याले झापाको रगतको माग पूरा नहुने इन्चार्ज दाहालको भनाई छ ।

Comment