1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

वडा कार्यालयको सूचना वेवास्ता गर्दै बिर्तामोडका व्यवसायीहरु



झापा ।  झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले वडाभित्र बिजुलीका पोलमा कुनै पनि विज्ञापन वा पोस्टर नटास्न आग्रह गरेपनि व्यवसायीहरुले त्यसको अटेर गरेका छन् ।

वडा कार्यालयले केही दिन अगाडि विज्ञप्ति निकालेर वडा भित्रका विद्युतका पोलहरूमा कुनै पनि प्रकारका सूचना, पोस्टर, पम्प्लेट लगायतका सामग्रीहरु टाँस नगरिदिनुहुन सबैलाई जानकारी गराएको थियो ।

यदि यो सूचनालाई वेवास्ता गरिए वा त्यस्ता सामग्रीहरु टाँस गरेको पाइएमा वा भेटिएमा बिर्तामोड नगरपालिकाले पास गरेको कार्यविधि बमोजिम कारबाही हुने व्यहोरा समेत उक्त सुचनाबाट सूचित गरिएको थियो ।

तर, अहिले बिर्तामोडको ३ नम्बर वडा अन्तर्गत बिर्ताबजार, सैनिक मोड लगायतका क्षेत्रहरूमा बिजुलीका पोलहरुमा विभिन्न व्यवसायका विज्ञापनहरु छ्यापछ्याप्ती टाँसिएका छन् ।

उक्त विज्ञापनहरु टाँसीरहँदा बजारको सौन्दर्यलाई समेत घटाएको छ ।

तथापि बिर्तामोडको ३ नम्बर वडाले बारम्बार आग्रह गर्दा समेत ती व्यवसायीहरूले विज्ञापन उक्काएका छैनन् ।

केहीले विज्ञापन उक्काए पनि नाम मात्रै मेटिने गरी उकाएका छन् ।

यस क्षेत्रमा साना–साना पोस्टरहरू मात्र नभएर बिजुलीका पोलमा ठुलठुला ब्यानरहरु समेत टाँसिएका छन् ।

यस विषयमा वडा कार्यालयले भने सम्बन्धित पोस्टर टाँस्ने संस्थाहरूमा बारम्बार सम्पर्क गरी उक्काउनलाई जानकारी गराइएको तर अटेर गरेको जनाइरहेको छ ।

वडा अध्यक्ष मदन बुढाथोकीले उक्त पोस्टर पम्प्लेट टाँस्ने संस्थाहरुलाई चाँडै कारबाही गरिने समेत बताउनुभएको छ । तथापि पोस्टर पम्प्लेटहरु उकाउने कार्य भने अहिलेसम्म भएको छैन ।

यसरी बिजुलीका पोल र सार्वजनिक ठाउँहरूमा पोस्टर पम्प्लेट टाँसेर आफ्ना व्यवसायको विज्ञापन अन्य वार्डमा समेत भइरहेको छ ।

तथापि सम्बन्धित निकायले कारबाही गर्न नसक्दा त्यस्ता पोस्टर पम्प्लेटहरु स्वतन्त्र रुपमा टाँसिदै आएका छन् ।

Comment