झापा । झापाको बिर्तामोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष एक करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएको जनाएको छ ।
आगामी वर्ष १ करोड ३६ हजार ३८८ रुपैयाँ नाफा कमाउने संस्थाले लक्ष्य लिएको हो । १९ औँ वार्षिक साधारणसभाको पूर्वतयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले यस वर्ष १९ लाख १५ हजार ९१५ रुपैयाँ शुद्ध नाफा भएको जानकारी दिए ।
उनले १ करोड २ लाख रुपैयाँ ब्याज मात्र उठ्न बाँकी रहेकाले त्यसको असुलीमा कडाई गरी आगामी वर्ष १ करोडभन्दा बढी नाफा पुर्याउने लक्ष्य रहेको बताए ।
त्यस्तै, २०५० महिला, १६११ पुरुष र १०२ संघसंस्था गरी कुल ३७६३ सदस्य रहेकोमा आगामी वर्ष त्यसलाई बढाएर ४१४० पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।
हाल संस्थाको शेयर पुँजी ५ करोड ८२ लाख ५२ हजार ३०० रुपैयाँ रहेको छ । ३ करोड बाह्य ऋण रहेको संस्थाले ऋणलाई शून्यमा झारेको छ । कार्यक्रममा अग्रज सदस्य, सल्लाहकार र उपसमितिका सदस्यहरुलाई १९ औँ वार्षिक वार्षिक साधारणसभाको तयारीका बारेमा जानकारी दिइएको थियो ।
यस वर्षको साधारणसभामा संस्थाका उपाध्यक्ष स्वर्गीय पर्शुराम सिटौलाको स्मृतिमा स्थापित पर्शुराम सिटौला स्मृति पुरस्कार स्वास्थ्यकर्मी ताहिर हुसैन मिकरानीलाई प्रदान गरिने प्रबन्धक रुद्र सिटौलाले जानकारी दिए ।
सो पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ । त्यस्तै, असल बचतकर्ता गुरुभक्त न्यौपाने, असल ऋणी लक्षीमादेवी उप्रेती र उत्कृष्ट कर्मचारीको रुपमा रिता पौडेललाई जनही ७ हजार ५०५ रुपैयाँका दरले पुरस्कृत गरिने उनले जानकारी दिए ।
साधारणसभामा यस वर्ष पनि शेयर सदस्यका छोराछोरीमध्येबाट कक्षामा १२ मा उत्कष्ट अंक ल्याउने दुई छात्रा र दुई छात्रलाई पुरस्कृत गरिने प्रबन्धक सिटौलाले जानकारी दिए ।
झापा टूडेबाट