झापा । झापाको कनकाई नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ।
हिजो भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठ्नुभएका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली ४ सय ९३ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका ५७ वर्षीय तुलराम बस्नेतले तीन सय ५६ मत प्राप्त गर्नुभएको छ।
सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसका ४५ वर्षीय राम गोपाल ओलीले तीन सय १७ मत, नेकपा माओवादी केन्द्रका ४९ वर्षीय गणेशबहादुर थापाले २ सय ७७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५९ वर्षीय नारायणप्रसाद निरौलाले २६ प्राप्त गर्नुभएको छ।
यसैगरी, मंगोल नेशनल अर्गनाजेशनका ४९ वर्षीय पदमबहादुर तामाङले २० मत, जनमत पार्टीका ६९ वर्षीय शुकलाल राजवंशीले ९ मत, नागरिक उन्मुक्ति पार्टीकी २४ वर्षीया जमुना राजवंशीले ६ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३७ वर्षीय दलबहादुर श्रेष्ठले २ मत प्राप्त गर्नुभएको छ।
कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि हिजो भएको उपनिर्वाचनमा ७१.५१ प्रतिशत अर्थात १ हजार ५ सय १३ मत खसेको थियो ।
यहाँ १ हजार ५८ जना महिला र १ हजार जना पुरुष गरी कूल २ हजार ५८ जना मतदाता रहेका छन् ।
कनकाई–६ मा गत २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दीर्घबहादुर थापाले ५ सय ८ मत ल्याएर विजयी हुनुभएको थियो भने हालका विजयी स्वतन्त्र उम्मेदवार ओलीले चार सय चार मत ल्याएर उपविजेता बन्नुभएको थियो ।