1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २३ मंगलबार

भाक्काको स्वाद लिने र कार्यक्रमको अवलोकन गर्नेको भिड बिर्ताबजारमा



झापा । आज बिहानै झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा  मानिसको भिड लाग्यो।

बिहानको समयमा जम्मा भएको भिडभाड त्यहाँ वरपर हुने मानिसहरूका लागि अचम्मको बन्यो ।

त्यहाँ कोहि राजनीतिक दलका प्रतिनिधि त कोही मजदुरहरु रहेका थिए ।

बाटो हिड्ने बटुवा पनि त्यहा हेरेर मात्र गन्तव्य तिर लागेका देखिन्थे ।

त्यो भिड भक्का खाने र भक्का दिवसको कार्यक्रममा सहभागी हुनेहरूको थियो ।

त्यहाँ पूर्वेली मजदुर यातायात प्रा.लि. र बन्दकी युवा परिवारको आयोजनामा भक्का दिवस कार्यक्रमको आयोजना गरिएको थियो।

के केटाकेटी, के युवा त के वृद्धवृद्धा कोहि कार्यक्रमको मनोरञ्जन लिइरहेका थिए भने कोही भक्काको स्वाद चाखिरहेका थिए ।

टमाटर र धनियाबाट बनेको अचार सँगै भक्कालाई बिहानको जाडोको समयमा चियाको चुस्कीसँगै चप्प खाँदा सबैको अनुहार हँसिलो देखिन्थ्यो ।

बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजवंशीको अध्यक्षता तथा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागिहरुले भाक्कालाइ ब्यवसायिक बनाउन र स्पेसल परिकारको रुपमा बिक्री गर्न सुझाब दिएका थिए ।

८५ केजी चामलको पिठोको भाक्का बनाएर वितरण गरिएको प्रा. लि. का अध्यक्ष हरि बास्कोटाले जानकारी दिनुभयो ।

केराको पातमा भाक्कासंगै टमाटर र धनियाको अचार सहभागीहरुलाई खुवाइएको थियो ।

भाक्का बनाउन करिव १० जना महिला खटिएका थिए भने त्यति नै संख्यामा वितरण गर्न स्वयंसेवक परिचालन भएका थिए ।

मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली, नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, पत्रकार इन्द्रसिंह राजवंशी लगायतले शुभकामना ब्यक्त गरेको कार्यक्रममा बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, जनप्रतिनिधिहरु शर्मिला राजवंशी, जगतबन्धु राजवंशी, लक्ष्मी रोक्का, विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौला, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका इन्चार्ज गणेश पौडेल, बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रविण राजवंशीले स्वागत गरेको कार्यक्रममा विराट सामुदायिक सिकाई केन्द्र र हिमालय एभरेष्ट इन्सुरेन्स प्रा.लि.को सहयोग रहेको थियो ।

Comment