झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको देशकै तेस्रो लामो झोलुङ्गे पुलको आज उद्घाटन गरिएको छ ।
झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज एक कार्यक्रमका बिच पुलको उद्घाटन गर्नुभएको हो ।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै बनेको पुल सञ्चालनमा आएपछि बुद्धशान्ति ७ र ६ सहित रोङ गाउँपालिकाको ५ र ६ नम्बर वडाका किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म ल्याउन सहज भएको छ ।
यो तरकारी पकेट क्षेत्र पनि हो ।
पुल नहुँदा किसानले उत्पादन गरेको तरकारी तथा कृषि उपज बजारसम्म पुर्याउन असहज भइरहेको अवस्थामा अव भने केही राहत मिल्ने भएको छ ।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण भएको ४ सय ७६ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएकाले अब यसले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयबासीले बताएका छन् ।
थानी जगदम्बा जेभी काठमाडौंले निर्माण गरेको झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७ सय ६१ रुपैयाँ ३५ पैसामा पारेको थियो ।
२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि करिब ६ महिनामै उक्त काम सम्पन्न भएको हो ।
ऋहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ । जसका कारण शान्तिनगर पर्यटकीय हब बन्ने विश्वास जनमानसले लिएका छ्न् ।