झापा। झापाको कन्काई माईमा विद्युतीय शवदाह गृह निर्माण हुने भएको छ ।
कोशी प्रदेश सरकारको खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको करिव दुई करोड रुपैयाँको बजेटमा विद्युतीय शवदाह गृह बन्ने भएको हो ।
विद्युतीय शवदाह गृह निर्माण गर्नका लागि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीलगायतको टोलीले आज ठाउँको अवलोकन गरेका छन् ।
कन्काई पुलको छेउमा रहेको घाटलाई विद्युतीय शवदाह गृह बनाइने भएको छ ।
कन्काई घाट संस्थाले दुईवटा घाट निर्माण गरेकोमा एउटा घाट विद्युतीय शवदाह गृह निर्माणका लागि दिने भएको हो ।
कन्काईको कोटीहोम क्षेत्रमा पाँचवटा घाट रहेका छन् ।
विद्युतीय शवदाह गृह निर्माणका लागि इन्टर ट्रेड नेपाल बिराटनगरले ठेक्का पाएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि बैभव केडियाले दुई महिनाभित्र विद्युतीय शवदाह गृह निर्माण भइसक्ने जानकारी दिए ।
सो शवदाह गृहको सिभिल वर्कको काम कन्काई नगरपालिकाले गर्ने बताइएको छ ।
सो शवदाह गृह कन्काई नगरपालिकाद्वारा संचालन हुने भएको छ ।
विद्युतीय शवदाह गृह बनेपनि आर्थिक भारसंगै समयको पनि बचत हुने भएको छ ।
एकजनाको अन्त्येष्टि गरेवापत दुई हजारदेखि दुई हजार पाँचसय तिर्नुपर्ने भएको छ भने करिव ३५ मिनेटमा अन्त्येष्टि भइसक्ने छ ।
अहिले अन्त्येष्टि गर्दा घाट शुल्क र दाउरा गरी पाँच हजार पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
प्रतिदिन दैनिकबाट