1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

झापाली सम्पादकहरूद्वारा तीन बुँदे प्रतिवद्धता



बिर्तामोड –  झापाली सम्पादकहरूले मिडिया क्षेत्रको संरक्षण र प्रेस स्वतन्त्रताको पक्षमा तीन बुँदे प्रतिवद्धता जनाएका छन्।

प्रेस चौतारी नेपाल, झापा शाखाले आज बिर्तामोडमा आयोजना गरेको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा अधिकांश सम्पादकहरूले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘मेरो रेडियो’का सञ्चालक एवम् सम्पादक कुमार भट्टराईले कार्यक्रममा तीन बुँदे प्रतिवद्धता प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमा सहभागी सम्पादकहरूले एकमतले सहमति जनाए।

तीन बुँदे प्रतिवद्धतामा झापाली सञ्चारकर्मीबीच एकता, सद्भाव र सहकार्य गर्ने, कोभिड र आर्थिक मन्दीले गाह्रो बनेको मिडिया क्षेत्रलाई स्थानीय सरकार, उद्योगी व्यवसायी र सरोकारवालासँग सहकार्य गरेर जोगाउने तथा प्रेस स्वतन्त्रता विरोधी गतिविधिको सामूहिक प्रतिवाद गर्ने उल्लेख गरिएको छ।

कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले मिडिया क्षेत्रलाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। त्यसैले सम्पादकहरूलाई एकै ठाउँमा राखेर विचार आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी सम्पादकहरूले आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले पत्रकारितामा मेहनत, अनुसन्धान र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए। विज्ञापनलाई समाचारको रूपमा प्रयोग नगरिनुपर्ने र स्थानीय विज्ञापन स्थानीय मिडियामै पुग्नुपर्ने कुरामा पनि जोड दिइयो।

सम्पादकहरूले पत्रकारिताको मूल्य–मान्यता पालना गर्दै, आचरण सुधार र व्यावसायिक पत्रकारितामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रीय सदस्य माधव विद्रोहीले मिडिया हाउसलाई ब्राण्ड बनाउनुपर्ने धारणा राखे। विद्रोहीले सरकारलाई जनताको पक्षमा काम गर्न मिडियाले दबाब सिर्जना गर्नुपर्ने र व्यवस्था विरोधी गतिविधिलाई मञ्च नदिन आग्रहसमेत गरे।

त्यस्तै, प्रेस चौतारीका नेता एवम् पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले जिल्लाको सञ्चार क्षेत्रमा देखिएका समस्या, चुनौती र अवसरबारे विषय प्रवेश गराएका थिए। कार्यक्रमको स्वागत उपाध्यक्ष राजु पोखरेलले र सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए।

कार्यक्रममा विभिन्न अखबार, रेडियो र टिभीका सम्पादकहरू उपस्थित थिए। उनीहरूले मिडिया क्षेत्रमा देखिएको समस्या र चुनौतीका बीचमा एकता, सहकार्य र समाधान खोज्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment