झापा | पूर्वी नेपालमा हक्की खेलको विकासमा नयाँ अध्याय थप्दै भद्रपुर नगरमा भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। झापा जिल्ला हक्की संघको आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई सम्मान गर्नुका साथै हक्की खेलसम्बन्धी ज्ञानवर्द्धक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकीले गर्नुभएको थियो भने प्रमुख अतिथि झापा जिल्ला खेलकुद संघका अध्यक्ष भेषराज कार्की रहनुभएको थियो। साथै, भद्रपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष राम दाहाल, वडा नं. ८ का अध्यक्ष गौरव सुब्बा (मनोज), स्थानीय जनप्रतिनिधि, खेलकर्मी, शिक्षक, अभिभावक तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा भद्रपुर नगर हक्की संघको तदर्थ समिति गठन गरिएको हो, जसको अध्यक्षमा दिपक खतीवडा, उपाध्यक्षमा युवराज ढकाल, सचिवमा खगेन्द्र ढुंगाना, कोषाध्यक्षमा शाकुन्तला चौधरी र सदस्यहरूमा रविन सुनुवार, सुनिता चौधरी, भीम चौधरी, मणि कुमार शर्मा र गङ्गा थापा चयन भएका छन्।
कार्यक्रममा वरिष्ठ प्रशिक्षक रञ्जन थापा तथा राष्ट्रिय हक्की खेलाडीहरूलाई सम्मानपत्र, खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। सम्मानित खेलाडीहरूमा रोशन चौधरी, डिल्ली चौधरी, मनोज चौधरी, प्रदिप राजबंशी र चिरन प्रधान रहेका छन्, जो सबै त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै हक्की खेल्दै आएका छन्।
कार्यक्रमकै अवसरमा आयोजित अन्तरक्रिया सत्रमा राष्ट्रिय खेलाडी चिरन प्रधानले नेपालको हक्की खेलको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे धारणा राख्दै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म यस खेलको प्रवर्द्धन आवश्यक रहेको बताए। उनले खेलको विकासका लागि सबै पक्षको सक्रिय सहयोग जरुरी रहेको उल्लेख गरे। त्यस्तै, वरिष्ठ प्रशिक्षक रञ्जन थापाले गुणस्तरीय प्रशिक्षण, खेलाडीको मनोबल वृद्धि र आधुनिक प्रविधिको प्रयोगमार्फत मात्र नेपाली हक्कीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने धारणा व्यक्त गर्दै निरन्तरता र समर्पण आवश्यक रहेको बताए।
संघका अध्यक्ष दिपक खतीवडाले भद्रपुरलाई हक्की खेलको केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए। उपाध्यक्ष युवराज ढकालले पारदर्शिता र सहकार्यमा जोड दिनुभयो भने सचिव खगेन्द्र ढुंगानाले विद्यालयस्तरदेखि नै खेलकुदमा लगानी हुनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको समापनमा भद्रपुर नगर हक्की संघले आगामी दिनमा अन्तरविद्यालय प्रतियोगिता, निर्णायक तालिम, महिला हक्की प्रवर्द्धन र स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका प्रतियोगिता सञ्चालन गर्ने योजनासमेत सार्वजनिक गरेको छ। हक्की खेलको समग्र विकासमा संघको सक्रिय भूमिका रहने अपेक्षा गरिएको छ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१