झापा । झापामा प्रतिनिधिसभा निर्वाचनको पूर्व तयारी, सुरक्षा व्यवस्था लगायतका विविध विषयहरुमा जिल्ला प्रशासन कार्यालयले राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सरोकारवालाहरुसँग छलफल गरिएको हो । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, राप्रपा लगायत अन्य दलहरुका नेताहरुको सहभागिता रहेको थियो । विशेष गरी आचारसंहिता र सुरक्षासँग जोडिएका विषयवस्तुहरुमा छलफल केन्द्रीत भएको झापाका जिल्ला निर्वाचन अधिकारी तुलसी कुमार नेपालले जानकारी दिए ।
छलफलमा आचारसंहिताको पालना, सुरक्षाको अवस्था र मनोनयनदेखि मतदानसम्मका चरणहरुका बारेमा छलफल भएको थियो । झापामा मतदानस्थल र केन्द्रहरु सुरक्षित रहेको बताइएको छ । शौचालय, खानेपानी, विजुली र इन्टरनेटको राम्रो व्यवस्था गरिने जनाइएको छ ।
जिल्ला निर्वाचन अधिकारी नेपालले झापामा ढुक्कसँग मतदान गर्न सकिने छ । उनले निर्वाचनका क्रममा पालना गर्नुपर्ने कानुनी व्यवस्थाका बारेमा समेत सहजीकरण गरेका र्थि ।
माघ २ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनको तयारीका कामहरु थालिने उनको भनाई छ । झापामा ४७ सय ४८ जना ‘निर्वाचन प्रहरी’ परिचालन गरिने जानकारी दिइएको छ ।
सर्वपक्षीय छलफलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, निर्वाचन अधिकृतका कार्यालय सञ्चालन, निर्वाचन आचारसंहिता र निर्वाचन कार्यतालिकाबारे जानकारी गराइएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पाँच वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि सञ्चालनमा ल्याइनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा रहनेछ ।
झापा क्षेत्र नम्बर १ का लागि मेचीनगर नगरपालिका कार्यालय, क्षेत्र नम्बर २ का लागि अर्जुनधारा नगरपालिका कार्यालय, क्षेत्र नम्बर ४ का लागि कन्काई नगरपालिकास्थित अतिथि सदन भवन र क्षेत्र नम्बर ५ का लागि दमकस्थित अग्र्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रजिअ गेलालले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारी, सञ्चारमाध्यम र सञ्चारकर्मी लगायत सबै सरोकारवालाले निर्वाचन आचारसंहिता–२०८२ को पालना गर्न र गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकमा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले उम्मेदवार मनोनयनदेखि मतदानसम्मको कार्यतालिका प्रस्तुत गरेका थिए ।
उनका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता र सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, ७ र ८ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते नै उम्मेदवारको नाम फिर्ता लिने र माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । मतदान भने फागुन २१ गते हुनेछ ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, नेकपा माओवादी केन्द्रका राजु आचार्य ‘अग्नि’, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशव ओझा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
त्यस्तै जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालसहित सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका प्रमुख सेनानी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
झापामा २ सय ८५ वटा मतदानस्थल र ८ सय १५ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिनेछ । त्यसैगरी झापामा तीनवटा अस्थायी मतदान केन्द्र पनि तयार गरिने भएको छ । समानुपातिकतर्फको मतदानका लागि जिल्ला कारागार झापा, कर्मचारी मिलन केन्द्र र दमकमा थप एक अस्थायी मतदान केन्द्र स्थापना गरिने जानकारी दिइएको छ ।
निर्वाचन कार्यालयका अनुसार झापामा कुल ७ लाख १३ हजार ५ सय ३७ जना मतदाता रहेका छन् । ३ लाख ५५ हजार १८३ महिला र ३ लाख ४५५८ हजार ३४६ पुरुष मतदाता रहेका छन् । अन्य ८ जना रहेका छन् ।
दलहरुलाई भीडभाड नगरी मनोनयन दर्ता गर्न आग्रह समेत गरिएको छ ।
इजलास दैनिकबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

