झापा । शिवसताक्षी नगरपालिका र निजी विद्यालय सञ्चालक संगठन (प्याब्सन) शिवसताक्षी नगरले झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउने निर्णयसँगै विद्यालयहरूमा एक दिने बिदा दिने घोषणा गरेका छन्।

नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई एक दिनको बिदा दिने निर्णय हालै सम्पन्न प्रधानाध्यापकस्तरीय बैठकले गरेको हो। यस्तै प्याप्सन शिवसताक्षीले पनि प्रतियोगिता अन्तर्गतको फाइनलको अघिल्लो दिन अर्थात् (आज) विद्यालय बिदा दिने निर्णय भएको हो।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छविलाल ढकालका अनुसार, गोल्डकपको फाइनल खेल हेर्न विद्यार्थी र शिक्षकलाई सहज वातावरण बनाउन एक दिन बिदा दिने निर्णय गरिएको हो। उनले भने, ‘झापा महिला गोल्डकपको खेल प्रतियोगिता मात्र होइन, यो शिवसताक्षी नगरको पहिचान बनिसकेको सांस्कृतिक–खेलकुद उत्सव हो। त्यसैले विद्यार्थीलाई पनि यसमा सहभागी गराउनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो।’ढकालका अनुसार यो बिदा हिउँदे बिदाबाट कटौती गरिनेछ।
त्यस्तै, प्याब्सन शिवसताक्षी नगरशाखाले पनि आफ्ना आवद्ध संस्थागत विद्यालयहरूलाई फाइनल खेलको दिन बिदा दिने निर्णय गरेको छ। संगठनका अध्यक्ष राम सुहाङका अनुसार, ‘हाम्रो उद्देश्य विद्यार्थीलाई खेलप्रति आकर्षित गर्ने र झापा महिला गोल्डकपजस्तो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नजिकबाट हेर्ने अवसर दिनु हो।’ प्याब्सनले विद्यार्थीहरूलाई कम्तीमा ५० प्रतिशत छुटसहित खेल हेर्न सक्ने व्यवस्था मिलाउन आयोजकसँग आग्रह गरेको छ।
कार्तिक १७ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण एलभीडी झापा महिला गोल्डकप २०८२ मा शिवसताक्षी नगरपालिकाले २० लाख ७५ हजार रुपैयाँ बराबरको सहयोग गरेको छ। नगर प्रमुख मेगाहङ थोप्राका अनुसार यो प्रतियोगिताले शिवसताक्षीलाई खेलकुद पर्यटन र महिला खेलाडीको शहरका रूपमा चिनाउने अवसर दिएको छ। ‘नगरको प्रतिष्ठा बढाउने यो प्रतियोगिता नगरवासीको गौरव हो,’ उनले भने।
गोल्डकपको फाइनल खेल कार्तिक २४ गते बिहान १० बजेबाट सांस्कृतिक कार्यक्रम सहित सुरु हुनेछ। उपाधिका लागि विभागीय सशस्त्र प्रहरीको एपीएफ महिला टोली र त्रिभुवन आर्मी क्लबको महिला टोली आमनेसामने हुनेछन्। प्रतियोगिताका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार, विजेता टोलीले १० लाख १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पनि ५ लाख पुरस्कार पाउनेछन्।
शिवसताक्षी नगरपालिकामा करिब ५०० भन्दा बढी शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन्, भने त्यति नै संख्यामा निजी विद्यालयमा पनि शिक्षक छन्। कक्षा ८ देखि १२ सम्मका करिब तीन हजार विद्यार्थी गोल्डकपको फाइनल खेल हेर्न सक्ने अनुमान गरिएको छ ।
झिलझिले माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुङ्गानाका अनुसार विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्ने नै खेल्ने हो। ‘खेलले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन र सामाजिक उत्तरदायित्व पनि सुदृढ बनाउँछ।
यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउने र खेललाई भविष्यको अवसरका रूपमा हेर्ने दृष्टिकोण विकास गर्ने अपेक्षा हामी अभिभावकको छ,’ उनले भने-झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउने तयारीसँगै शिवसताक्षीमा खेल र शिक्षाको सम्बन्ध थप सुदृढ हुने जनाइएको छ।
पूर्वाञ्चल दैनिकबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

