1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार ३ आइतबार

स्थानीय तह निर्वाचन – भद्रपुरमा एमालेको बृहत मोटरसाइकल र्याली



भद्रपुर । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचार–प्रसारको अन्तिम दिन मंगलबार झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले बृहत मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

चुनाव प्रचार–प्रसार कमिटी भद्रपुरको संयोजनमा एमाले कार्यकता तथा समर्थकहरुले मोटरसाइकल र्याली निकालेका हुन् ।

भद्रपुर नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका युवा नेता असारु राजवंशी, उपप्रमुख पदमा उम्मेद्वारी दिएकी कौशल्या अधिकारीलगायत एमालेका सबै उम्मेद्वारलाई भारी मतका साथ विजय गराउन आह्वान गर्दै मोटरसाइकल र्यालीले भद्रपुर परिक्रमा गरेको थियो ।

वडा नं १० बाट शुरु भएको र्याली सबै वडा पुगेर पुनः वडा नं १० मै कोणसभामा परिणत भएको थियो ।

घरदैलोमा पुगेर मतदातासँग मत माग्ने कार्यक्रमसँगै प्रचार–प्रसारको अन्तिम दिन मोटरसाइकल र्याली गरिएको भद्रपुरको चुनाव प्रसार–प्रसार कमिटीका संयोजक तथा नेकपा एमाले प्रदेश नं १ का सदस्य जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भद्रपुरमा नेकपा एमाले तालिका बनाएर व्यवस्थित ढंगले चुनावी प्रचारमा लागेको बताए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भद्रपुरमा नगरप्रमुख, उपप्रमुख, सात वडाध्यक्षसहित बहुमत सदस्य जित्न सफल नेकपा एमाले त्यो वर्चस्व र विरासतलाई कायम राख्दै थप सफलता हासिल गर्ने गरी चुनावी मैदानमा उत्रिएको र सर्वसाधारण मतदाताको प्रतिक्रिया र धारणाले नेकपा एमाललेलाई थप उत्साही बनाएको नगरप्रमुखका उम्मेद्वार राजवंशीले बताए ।

Comment