1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १७ बुधबार

झापामा पाँच फरार प्रतिवादी पक्राउ, दुई कारागार चलान



झापा ।  झापा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई आफ्नै घरवतनबाट पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दामा दोषी ठहर भएका झापा गाउँपालिका–४ निवासी ४७ वर्षीय अव्दुल हकिम मिया र लागुऔषध मुद्दाका मेचीनगर नगरपालिका–३ निवासी २६ वर्षीय अनिल दनुवारले अदालतले तोकेको जरिवाना तथा अन्य दायित्व पूरा गरेपछि छुटेका छन्।

त्यसैगरी लागुऔषध मुद्दामा दोषी ठहर भएका कमल गाउँपालिका–५ निवासी २३ वर्षीय मनिष मगरलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ। मगरलाई झापा जिल्ला अदालतले ९ महिना २० दिन कैद सजाय तोकेको थियो।

यस्तै इलाम जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका इलामको चुलाचुली गाउँपालिका–५ निवासी ३० वर्षीय लक्ष्मण फागोलाई पनि पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ। उनलाई १ वर्ष ११ महिना ३ दिन कैद तथा २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।

पक्राउ पर्ने अर्का प्रतिवादी कन्काई नगरपालिका–४ निवासी २९ वर्षीय नबिन रसाइली हुन्। लागुऔषध मुद्दामा दोषी ठहर भएका रसाइलीले अदालतले तोकेको रकम बुझाएपछि छुटेका छन्।

फरार प्रतिवादीहरूको खोजी तथा फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment