झापा-
जिल्ला कारागार मोरङका चौकीदार नवीन राईलाई स्थानान्तरण गरिएको छ। कारागारका कैदीबन्दीमाथि शोषण गरेर अकूत सम्पत्ति आर्जन गरेका उनलाई सोमबार साँझ विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट स्थानान्तरण गरेर झुम्का पुर्याइएको हो।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको स्थानान्तरणको विषयलाई लिएर सोमबार दिनभर कारागारभित्र तनाव भयो। राईका समर्थक कैदीबन्दीले जेलभित्रै नाराबाजी गरेर स्थानान्तरणमा अवरोध पुर्याए। कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले दिनभरको प्रयासपछि साँझ मात्रै स्थानान्तरण गरेर राईलाई झुम्का कारागार पुर्याउन सकिएको बताए।
कारागारबाट निस्कन नमानेका कारण बल प्रयोग गर्ने तयारीपछि उनी मोरङ कारागार छाड्नैपर्ने अवस्थामा पुगेका हुन्। उनको ठाउँमा अर्का कैदी किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको छ।
नाइके, भाइनाइकेसहितका केही कैदीबन्दीको साथ लिएर कारागारभित्र आतंक मच्चाइरहेका राईलाई कारागार र स्थानीय प्रशासनको संरक्षण तथा कारागारको सुरक्षार्थ खटिएका प्रहरीको सहयोग रहेको बताइन्छ। सबै पक्षसँग ‘सेटिङ’ मिलाएर कमाउ धन्दामा खुलेरै लागेका उनले कमाइ माया मार्नु परेपछि मोरङ छाड्न नमानेको बताइन्छ। स्थानान्तरणसँगै उनको चौकीदार पद पनि गुम्यो।
कारागारभित्र भिन्दै साम्राज्य खडा गरेर कैदीबन्दीमाथि मारपिट गर्ने, चरम यातना दिने, आर्थिक शोषण गर्ने र आफू अकूत सम्पत्ति आर्जनमा केन्द्रित हुने गरेको पाइएपछि उनलाई कारागार विभागले १ महिनाअघि नै सरुवा गरेर झुम्का लैजान निर्देशन दिँदै मोरङलाई पत्र पठाएको थियो। भदौ १७ गते नै स्थानान्तरणको पत्र आए पनि उनलाई ढिलो गरेर झुम्का लगिएको हो।
माथिकै निर्देशन अनुसार राईलाई १ महिनासम्म मोरङमै राखिएको र अहिले तत्काल स्थानान्तरण गर्नुभन्ने आदेश आएको निमित्त जेलर पोखरेलले बताए। चौकीदारको जिम्मेवारीमा रहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङबाट २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरेर राईलाई चौकीदारको जिम्मेवारी दिइएको थियो।
त्यसपछि राईले सिंगो कारागार नै आफ्नो नियन्त्रणमा लिएर आतंक मच्याएको स्रोतले बतायो। भनेअनुसार नमान्ने कैदीबन्दीलाई रातभर बोराभित्र पोको पारेर कुटपिट गर्ने र हदैसम्मको यातना दिने काम राईले गरिरहेको कारागार स्रोतको भनाइ छ। राईको समूहले दिएको यातनाकै कारण धेरै कैदीबन्दीको मृत्युसमेत भइसकेको छ। भदौमा मात्रै ४ जना कैदीबन्दीको मृत्यु भयो।
राईमाथि आफन्त र परिवारका सदस्यको नाममा ठाउँठाउँमा जग्गाजमिन र घरघडेरी जोडेको आरोप छ। कैदीबन्दीलाई प्राप्त भएको चामल, दाल, तरकारीमा समेत अनियमितता गर्ने र दैनिक उपभोग्य वस्तुमा महँगो मूल्य असुल्ने गरेको पाइएको छ। साथै कारागारभित्रबाट आफन्त एवं परिवार सदस्यलाई फोन गर्नेहरुसँग प्रतिमिनेट १० रूपैयाँसम्म राईले लिने गरेको एक कैदीका आफन्तले बताए।
कारागारभित्र ८ वटा टेलिफोनको व्यवस्था छ। बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सबै टेलिफोन व्यस्त हुने गरेका छन्। ठूलो संख्यामा रहेका कैदीबन्दीले आफन्त र घरतिर फोन गर्दा भने महँगो शुल्क तिर्नुपर्छ।
कारागारमा एकलौटी राज गरिरहेका राईले विराटनगरको रानीमा आफन्तको नाममा २४ वटा पिलर लगाएर घर बनाइरहेका छन्। मोरङको रंगेलीमा आफन्तकै नाममा ८ कट्ठा जग्गा जोडेको स्रोतले बतायो। विराटनगरमा पनि घरघडेरी जोडेका उनले सुनसरीको इटहरीमा आफन्तकै नाममा ३ तले घर ठड्याएका छन्। कैदीबन्दीबाट उठाएको पैसा सरकारी अधिकारीसम्मलाई बाँड्ने गरेको आरोप छ। उनले कारागारभित्रबाटै दैनिक लाखौँ रूपैयाँ असुल्ने गरेको बताइन्छ। राई र उनको आफन्तको सम्पत्ति छानबिन गरेर कारबाहीको दायरामा ल्याउनलाई प्रक्रिया अघि बढाइएको मोरङ प्रशासनले स्रोतले बतायो।
कारागारभित्रका कैदीले सिदाबापत दैनिक ७ सय ग्राम चामल र ६० रूपैयाँ र दसैं खर्चबापत ३ सय रूपैयाँ पाउँछन्। तर पनि कारागारमा साप्ताहिक हिसाबले ठूलो मात्रामा रकम बुझाउनुपर्ने अवस्था रहेको गुनासो कैदीबन्दीका आफन्तको छ। एक कैदीका आफन्तका अनुसार सातामा ४ हजार रूपैयाँसम्म बुझाउनु पर्छ। ‘ज्याला मजदुरी गर्दा परिवार पाल्नै मुस्किल छ,’ उनले भने, ‘कारागारभित्र रहेका हाम्रा मान्छेलाई कुटेर मारिदिन्छन्भन्ने डरले ऋण काढेर पैसा बुझाउँछौं।’
उनका अनुसार कारागारभित्र चौकीदारलाई पैसा बुझाएपनि आफन्तले भने पाउँदैनन्। ‘पैसा दिन नसेकमा रातभर कुटाइ खानुपर्छ भन्ने सुन्छौँ,’ उनले भने, ‘कुटाइबाट बचाउनलाई जसरी भए पनि मासिक ठूलो रकम बुझाउनुपर्ने हाम्रो बाध्यता छ।’
कांग्रेसका नेता र गृहमन्त्रीको ठाडो निर्देशनमा गिरीलाई मोरङ !
यसैबीच राईलाई झुम्का पठाएर उनको ठाउँमा गुन्डा नाइके गिरीलाई पुनः ल्याउन खोजिएपछि कारागारभित्रका कैदीबन्दीले असुरक्षित महसुस गरेका छन्। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका अपराधिक पृष्ठभूमिका गिरीको सरुवाको पत्र गत भदौ १७ गते नै कारागारलाई प्राप्त भएको हो। तर चौतर्फी विरोध भएकैले उनलाई मोरङ पठाउने आँट कारागार विभागले गर्न सकिरहेको छैन।
जिल्ला प्रशासन कार्यालय मोरङमा पनि गिरीलाई नल्याउनलाई पहल गर्न आग्रह गर्दै कैदीबन्दीका आफन्तले सोमबार निवेदन दिएका छन्। कैदीबन्दीलाई कुटपिट गर्ने, चरम यातना दिने, महिनामारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने, टेलिफोनमा मंहगो मूल्य लिने तथा बाहिर फिरौती असुलीको धन्दा चलाउने गरेको पाइएपछि गिरीलाई सरुवा गरेर डिल्ली बजार स्थानान्तरण गरिएको थियो।
गिरीको मोरङबाट सरुवा भएपछि चौकीदारको जिम्मेवारी पाएका राईको हर्कतले पनि सीमा नाघेको हो। स्रोतका अनुसार गिरीलाई ल्याइने भएपछि कारागारभित्र उधुम मच्चाइरहेका राईलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको हो। कारागार भित्रको टेलिफोन, पसल र खानाबाट मात्रै दैनिक लाखौँ रकम कमाइ हुने भएकाले चौकीदारका लागि मोरङ कारागार आम्दानीको राम्रो स्रोत मानिन्छ। अवैध कमाई सबैलाई बाँड्ने गरेपछि चौकीदारका सवालमा सरकारी पक्षले बोल्न नसक्ने गुनासो कैदीबन्दीको छ।
विराटनगर महानगरपालिका– ११ घर भएका गिरी नेपाली कांग्रेसका नेताहरुको संरक्षणमा अपराध गर्दै आएका गुन्डा नाइके हुन्। छोटो समयमै अकूत सम्पत्ति आर्जन गरेको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलाइएको थियो। मोरङ ल्याउन कांग्रेसका नेताहरुले लविङ गरिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि गिरीले पुनः मोरङ आउने अवसर जुराएका छन्। स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँडको ठाडो निर्देशनमा उनलाई मोरङ पठाउन लागिएको हो।
अभिषेक गिरीसँगै उनका टिमका अन्य तीन जनाको पनि विराटनगर सरुवा भएको थियो। अपहरण मुद्दामै कैद भुक्तान गरिरहेका गिरीका सहयोगी राजु श्रेष्ठ, असित सैँवु र वन मुद्दाका कैदी मनोज कार्कीको पनि एकै पटक विराटनगरस्थित मोरङ कारागार सरुवा गरिएको हो।
कारागार विभागका एक अधिकारीका अनुसार एउटा कारागारबाट स्थानान्तरण भइसकेका कैदीलाई पुनः सोही स्थानमा सरुवा गर्न मिल्ने कानुनी व्यवस्था छैन। गिरीको सवालमा कानुनी व्यवस्था र अभ्यासविपरीत निर्णय भएको विभागका कर्मचारीको भनाइ छ। स्रोतका अनुसार गृहमन्त्री र कांग्रेस नेताले भने मोरङ पठाउन दबाब दिइरहेका छन्। उनलाई संरक्षण दिइरहेका कांग्रेस नेताहरुकै आग्रहमा रकमको चलखेल गरेर चौकीदार बनाउन पुनः गिरीलाई मोरङ कारागार पठाउने निर्णय भएको गृह स्रोतले बतायो।
निमित्त जेलर पोखरेलले गिरीलाई कहिले ल्याइन्छभन्ने यकिन नभएको बताए। गिरी लामो समयदेखि विराटनगरलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न थिए। अपहरण मुद्दामा दोषी ठहर भएसँगै कैद काट्दै गरेका बेला कांग्रेसका नेताको संरक्षणमा कारागारभित्रैबाट अवैध धन्दा चलाउने गरेको पाइएपछि उनलाई मोरङबाट काठमाडौं पठाइएको थियो।
२ सय ५० पुरुष र ५० महिला गरेर ३ सय कैदीबन्दीको क्षमता रहेको मोरङ कारागारमा अहिले एक हजार २ सय जना कैदीबन्दी रहेको निमित्त जेलर पोखरेलले बताए।