झापा । बिर्तामोड नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अध्ययन अवलोकनका लागि झापा आइपुगेको मेलमिलाप केन्द्रको टोलीले सोमबार बिर्तामोडमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
नगरको न्यायिक क्षेत्रमा भएका गतिविधिहरुको विषयमा अनुभव साँटासाँटको लागि टोली बिर्तामोड आएको मेलमिलाप विज्ञ कविता अधिकारीले बताउनु भयो ।
उहाँले बिर्तामोडको न्यायिक समितिले गरेको उपलव्धी,संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा आएको चुनौतिको विषयमा अनुभव आदाना प्रदान नै भेटघाटको मुख्य उदेश्य रहेको बताउनु भयो ।
बिर्तामोडले गरेको राम्रो अभ्यासलाई रत्ननगरमा लगेर कार्यान्वयन गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाको न्यायिक समितिको उजुरी प्रशासक टिका लामिछानेले नगरले अहिलेसम्म गरेका गतिविधिहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले बिर्तामोडमा कुलो पैनी,मानो चामल,घर वहाल,आर्थिक लेनदेन लगायतका मुद्वा पर्ने गरको बताउनु भयो ।
यस अघिका वर्षहरुमा नगरमा कानुनी सल्लाहकार सहित वडाका मेलमिलाप केन्द्रमा समेत अनुगमन गरेको बताउँदै उहाँले बिर्तामोड नगरपालिकाको न्यायिक सम्पादन जिल्लाकै उत्कृष्ठ बन्न सफल भएको बताउनु भयो ।
बिर्तामोडमा यो चालु आर्थिक वर्षमा दर्ता भएका ४७ वटा र अघिल्लो वर्षबाट सरि आएका १५ वटा गरि जम्मा ६२ वटा मुद्वामा ४७ वटा फर्छौट भईसकेको जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा कार्यवहाक मेयर नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोडले न्यायिक क्षेत्रमा प्रदेश १ मै उत्कृष्ठ काम गरेको बताउनु भयो ।
उहाँले जनताका साना मसिना आधारभुत समस्याहरुमा केन्द्रित रहेर जनप्रतिनिधहरुले भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । उहाँले बिर्तामोडमा मुद्वाका फायल रेकर्ड व्यवस्थित रहेको र कानुनी सल्लाहकार नियुक्त गरेर काम गर्दै आएको जानकारी दिनु भयो ।
कार्यक्रममा बिर्तामोडका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,पत्रकार सुव्रत न्यौपाने,रत्ननगर नगरपालिकाकी पुर्व उपप्रमुख विमला देवी दुवाडी,मेलमिलाप केन्द्रकी अध्यक्ष लक्ष्मीकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।