झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई सम्मान गरेको छ ।
राप्रपाले नेपाल एकीकरणका महापुरुष श्री ५ पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम गर्दै उहाँलाई सम्मान गरेको हो ।
कनकाई नगरपालिकाको कार्यालय जाने बाटोमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गराएर पृथ्वीनारायण शाहको दिव्योपदेश र नेपालीहरूलाई एकताको सूत्रमा बाँधिन प्रेरणा दिने तथा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको भावना जीवित राख्न नगरपालिकाको तर्फबाट महान कार्य भएको भन्दै नगरप्रमुख पोखरेललाई राप्रपा झापाले सम्मान गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाको आयोजना र राप्रपा क्षेत्र नं ४, कनकाई नगर समितिको संयोजनमा आयोजित कार्यक्रममा विभिन्न जातीय झाँकी समेत प्रस्तुत गरिएको थियो ।