बिर्तामोड । स्थानीय उपभोक्तहरुले झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने गरामनी स्थित त्रीबेणीचोक दक्षिणको बाटो बन्द गरेका छन् ।
यस अघिनै कालोपत्रे हुनुपर्ने बाटोमा सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयबासीले बन्द गरिदिएका हुन् ।
२४ सै घण्टा व्यस्त रहने यो बाटो बिगत लामो समयदेखि अस्तव्यस्त रहेको र धुवाँ धुलोका कारण छेउछाउका उपभोक्तालाई असर गरेको उनीहरुको आरोप रहेको छ ।
गत दशैँ अगाबै निर्माण सम्पन्न हुने भनिए पनि लामो समयदेखि गिटी छरेर छोडिएकाले सवारी दुर्घटनाको समेत जोखिम बढेको स्थानीयबासी नरेन्द्र प्रसाइले बताउनुभयो ।
यस अघि गिटी छरेर मिलाउने क्रममा बाटो छेउको पोलम भत्किएको तर त्यसको निर्माणमा समेत बिर्तामोड नगरपालिका तथा वडा कार्यालयहरुले बेवास्ता गरेको उहाँको आरोप छ ।
पटक पटक निबेदन मार्फत नगरपालिका र वडा कार्यालयलाई झक्झकाउने काम गरेपनि आफूहरुको माग प्रति बेवास्ता गरेकाले थप दवाव दिनका लागि बाटोनै बन्द गरिएको स्थानीय बासीको भनाइ छ ।
बाटो बन्द गर्नु कुनै रहर नभइ वाध्यता भएको उनीहरुले बताएका छन् ।