1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

मेचीनगरमा पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलोे वितरण



झापा ।  वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले झापा मेचीनगरका आठ वटा वडामा पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलोे वितरण गरेको छ ।

खुला बजारमा पाँच हजार मूल्य पर्ने उक्त चुलोे विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चबापत दुई सय मात्र लिएर वितरण गरिरहेको इपिसीका झापा संयोजक अमर मेचेले जानकारी दिनुभयो ।

विद्युत् र दाउरा दुवै प्रयोग हुने सुधारिएको चुलोे सिङ्गापुरको भिएनभी एडभाइजरी नामक दातृ संस्थाको सहयोगमा वितरण गरिएको हो ।

हाल झापा, उदयपुर धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ ।

थोरै दाउराले धेरै ऊर्जा दिने गरी चुलोेको ‘डिजाइन’ गरिएको र यसको प्रयोगबाट खाना पकाउने एलपी ग्यासको निर्भरता हट्ने संयोजक मेचेले बताउनुभयो ।

वातावरण प्रदूषण न्यूनीकरणमा समेत यो प्रविधिको चुलोेले सघाउ पुग्ने भएको छ ।

मेचीनगर– ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले वडा कार्यालयले स्थानीय चिया मजदुर र विपन्न परिवारको पहिचान गरेर इपिसीबाट प्राप्त पाँच सय चुलोे वितरण गरिसकेको र अरु माग भइरहेको बताउनुभयो ।

दातृ संस्था इपिसीले चुलोेको पाँच वर्षको ग्यारेन्टी दिएको र बिजुलीबाट चल्ने पत्ता र एडप्टर बिग्रिए फेरिदिने प्रतिबद्धता जनाएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

चुलोेको कुनै पनि सामान नफाल्न आग्रह गर्दै इपिसीले पुरानो चुलोेको साटो नयाँ दिने जनाएको छ ।

चिया, यातायात, प्लाइउड र कृषि श्रमिकको ठूलो संख्या रहेको मेचीनगर नगरपालिकामा २५ हजार चुलोे वितरण गर्ने लक्ष्य लिइएको इपिसीका झापा संयोजक अमर मेचेले जानकारी दिनुभयो ।

चुलोे पाउने परिवारको निष्पक्ष छनोट र वितरणका लागि इपिसीले नगरपालिका र वडा कार्यालयसँग सहकार्य गरिरहेको छ ।

मेचीनगरको वडा नम्बर १, २, ४, ५, ७, ८, ९ र १५ मा चुलोे वितरण भइसकेको छ र पहिलो चरणमा निम्न वर्गीय परिवारलाई सुधारिएको चुलोे वितरण गर्ने र दोस्रो चरणमा मध्यम वर्गका उपभोक्ताका लागि विद्युतीय इन्डक्सन चुलोे वितरण गरिने संस्थाको योजना रहेको मेचेले जानकारी दिनुभयो ।

झापाको मेचीनगरपछि बुद्धशान्ति गाउँपालिकाको वडा नं ४ र ५ स्थित सुकुम्बासी बस्ती तथा इलाम जिल्लाको दक्षिणी बस्तीमा यस्तै चुलोे वितरण गर्ने योजना रहेको उहाँको भनाइ छ ।

Comment