1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

झापामा विद्यार्थीमाथि निर्घात कुटपिट 



झापा । झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका एक प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका– ५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा मैले थोरै भएन र भनेर कमेन्ट गरेकी थिएँ,’ निर्जलाले भन्नुभयो, ‘मंगलबार स्कुलको अफिसमा हेडसरले खानेपानीको नालाले खुट्टामा कुट्नुभयो ।’
कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम भएको छ । कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर उहाँलाई विद्यालयबाट निकालिएको गुनासोसमेत गर्नुभयो ।
‘मलाई कुटेपछि बुबालाई बोलाएर कागजमा साइन गर्न लगाइयो । भोलिदेखि स्कुल नआउनु भन्नुभएको छ,’ उहाँले भन्नुभयो । छोरीलाई कुटपिट गरेपछि तत्कालै आफूलाई विद्यालय बोलाइएको उहाँका बुबा नवराज बाँस्कोटाले बताउनुभयो ।
‘मलाई फोन आयो । पाँच मिनेटमा जसरी पनि आइपुग्नुपर्छ, अरू म जान्दिनँ भनियो । म जाँदा स्टाटसमा कमेन्ट गरेको कुरा निस्कियो,’ उहाँले भन्नुभयो, ‘एउटा कागज गरेर मलाई दायाँ–बायाँ सही र ल्याप्चे पनि हनाए । त्यो स्टाटस लेख्ने केटालाई पनि म त्यहीँ हुँदा–हुँदै तीन पाइप हाने । छोरीले गलत गरेको भए कानुनी रूपमा सजाय भोग्न तयार हो । तर, यसरी कुट्न पाइँदैन । यसरी कुट्ने हेडसरलाई कानुनी कारबाही हुनुपर्छ ।’
कुटपिटमा संलग्न प्रधानाध्यापक बगालेले भने घटनाबारे बोल्न मानेनन् । उनले यहीबारेमा छलफल गर्न आफू इलाका प्रहरी कार्यालय दमकमा रहेको बताए ।
मंगलमय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ थापाले बालिकामाथि कुटपिट भएको स्वीकार गर्नुभयो । यसरी बालिकामाथि कुटपिट हुनु गलत भएको बताए पनि उहाँले यो विषय मंगलबार नै अभिभावकसँग कागज गरेर मिलाएको दाबी गर्नुभयो । ‘म हिजो विद्यालयमा थिइनँ । विषय आज थाहा पाएँ, हिजो अभिभावक नै आएर समझदारी कायम भएको रहेछ,’ उहाँले भन्नुभयो, ‘कसले के स्वार्थमा के गरो भन्ने विषयमा हाम्रो आपत्ति हो । कुटपिट गलत भयो भन्ने कुरा मेरो पनि हो ।’
कमल गाउँपालिकालाई करिब दुई महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो । बालमैत्री पालिकामा पनि बालबालिकामाथि हिंसा घटेको छैन ।

Comment