झापा । झापामा सबै पालिकामा एक वर्षको अवधिमा करिब ४७ किलोमिटर सडक कालोपत्रे भएको छ ।
पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०÷०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुबर्से २० दशमलव ४७ किलोमिटर गरी कुल ४६ दशमवल ८५ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
कार्यालयका सूचना अधिकारी उत्तम खरेलका अनुसार कार्यालय मातहत १४ किलोमिटर सडक मर्मत भएका छन् भने २३ किलोमिटर ३०२ मिटर ग्राभेल भएका छन् । चारवटा मोटरेवल पुल समेत निर्माण भएको सूचना अधिकारी खरेलले बताए ।
झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत, चार दशमवल २८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमवल २)५ किलोमिटर सोलिङ र शून्य दशमलव ३५५ किलोमिटर सडक कालोपत्रे गरेको छ । दुईवटा मोटरेवल पुल समेत निर्माण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा पूँजीगत र चालु गरी प्राप्त गरेको दुई अर्ब १४ करोड ७६ लाख ५० हजार रुपैयाँ बजेटमध्ये एक अर्ब ५७ करोड ७० लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ । वित्तीयतर्फ कार्यालयले गत आर्थिक वर्षमा ७३ प्रतिशत प्रगति हासिल गरेको छ ।