1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन



नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त इ–बुलेटिनको एक कार्यक्रमकाबीच विमोचन भएको छ ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका कोषाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि बुद्धि लामिछाने (विमल)ले इ–बुलेटिनको विमोचन गरेका हुन् । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिर्तामोडस्थित महासंघ कार्यालयमा भएको कार्यक्रममा सहभागी अतिथिले नयाँ कामको थालनी गरेकोमा प्रशंसा गरेका थिए ।

महासंघले बैशाखदेखि साउनसम्मका गतिविधि समेटेर पहिलोपटक ३९ पेजको इ–बुलेटिन प्रकाशन गरेको हो । तीन वर्षे कार्यकालका लागि महासंघको वर्तमान नेतृत्वले ०७८ बैशाख ६ गते पदभार ग्रहण गरेपछि महासंघको संस्थागत विकास र पत्रकारको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रमुख अतिथि लामिछानेले महासंघको इ–बुलेटिन दस्तावेज भएकोले महत्वपूर्ण कामको शुरुवातका लागि महासंघप्रति धन्यवाद ज्ञापन गरे । उनले मिडियाले समावेशिताको मुद्दालाई उठाउनुपर्नेमा जोड दिएका छन् । लामिछानेले चाकडी पत्रकारिता बन्द गरेर खोज र व्यवसायिक पत्रकारितामा अघि बढ्न पत्रकारहरुलाई सुझाएका छन् । महासंघकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत र सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

इ–बुलेटिनको सम्पादक मण्डलमा उपाध्यक्ष संग्रौला, सचिव लामा, सदस्यहरु स्वस्तिका आचार्य, सुनिरा मैनाली, सुष्मा राजवंशी र मनिषा चौलागाईं रहेको उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

[email protected]

Comment