1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ मंसिर ३ सोमबार

झापाको शिवसताक्षि नगरपालिका स्थित शिवगञ्ज बजार अनिश्चितकालका लागि बन्द



झापा ।  झापाको शिवसताक्षि नगरपालिका स्थित शिवगञ्ज बजार स्थानीय व्यवसायीले अनिश्चितकालका लागि बन्द गराएका छन् ।

सोमबार बिहानैदेखि बजार बन्द गराएको स्थानीय व्यवसायीले बताए । शिवगञ्ज बजार व्यवस्थापनका लागि स्थानीय सरकारले चासो नदिएको भन्दै बजारबासी आक्रोशित छन् । शिवगञ्ज बजारको नयाँ तरकारी मण्डी पनि चार दिनदेखि बन्द छ । सरकारले करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरेको तरकारी मण्डीको भवनभित्र जाने ठाउँमा तालाबन्दी गरिएको छ । चार दिनदेखि ताला लगाइएकोमा आज विहानदेखि ताला खुलेको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

स्थानीय सरकारले शिवगञ्ज बजारको टहरा भत्काउन दबाब दिएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । स्थानीयबासीले वार्ता, छलफल र सहमतिपछि मात्र बजारको व्यवस्थापन गर्न स्थानीय सरकारलाई पटकपटक अनुरोध गरेका थिए । तर स्थानीय बासिन्दा र उपभोक्ताको माग सम्बोधन नगरी स्थानीय सरकारले बल प्रयोग गरेर टहरा भत्काउने भनेपछि बजारवासी उत्तेजित भएको शिवगञ्ज बजार संरक्षण समितिका सदस्य भोला मैनालीले बताए । मैनाली पनि वाणिज्य संघका अध्यक्ष हुन् । उनले स्थानीय सरकारले जबरजस्त गरे शिवगञ्ज बजारमा रणसंग्राम हुनसक्ने चेतावनी दिएका छन् ।

स्थानीय बासिन्दाले वार्ताद्वारा समाधान खोज्न सकिने बताउँदै आएका छन् । स्थानीय सरकार र बजारबासीको सहमति भएपछि मात्र बजारको टहरा भत्काउने वा नभत्काउने भन्ने विषयमा टुंगो लाग्ने बताएका छन् । शिवसताक्षी नगरपालिका र वडाले टहरा भत्काएर शताब्दीभन्दा अगाडिको ऐतिहासिक बजार नामेट गर्न खोजेको आरोप लगाए ।

यता शिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्राले वार्ता तथा सहमतिबाटै शिवगञ्ज बजारको स्थायी समाधान खोजिने बताएका छन् । सरकारले करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरेको स्थायी संरचना उपभोग गर्न उनले स्थानीय बजारवासीलाई आग्रह गरे । नगर प्रमुख थोप्राले शिवगञ्ज बजारको पुरानो तरकारी बजार नयाँ मण्डीमा सार्नु सुरक्षाका दृष्टिकोणले उपलब्धिमूलक काम भएको बताए ।

शौचालय प्रयोग, खुला आकाशमुनिको व्यापार, हावाहुन्डरी, बर्षातलगायतका बेला बेला आईपर्ने विपतका कारणले वर्षौंदेखि व्यापारीले हैरानी बेहोर्नु परिरहेको नगर प्रमुखले बताए । व्यवसायी, किसान र उपभोक्ताको सुरक्षाका लागि स्थानान्तरण गर्नु सरकारको प्रमुख दायित्व भएको उनले बताए ।

वडा अध्यक्ष कार्कीका अनुसार शिवगञ्ज बजार पूर्णरुपमा बन्द भएको छैन । उनले आंशिक घरका केही सटरहरू बन्द भएको बताएका छन् । पसलका सटरहरू बन्द भएपनि भित्रबाट व्यापार भइरहेको स्थानीय एक व्यवसायीले बताएका छन् ।

व्यक्तिगत लाभका लागि समाजका केही ठुलाबडाले बेतुकको भाँजो हालेको कतिपयको ठम्याई छ । आफ्नै घर अगाडी बजार रहनुपर्ने सबैलाई मन हुन्छ । यसले एउटा व्यक्ति वा परिवारको जीवनभर लाभ होला तर समाजका लागि भने निकै ठुलो घातक हुने नेकपा एमालेका एक स्थानीय नेताले बताएका छन् ।

पालिका सन्देशबाट

Comment