झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बुद्धनगर टोल विकास संस्थाको आयोजनामा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय बढिरहेको महिला हिंसा र लागूऔषध सेवन लगायतका घटना रोक्न घर, टोल र वडाबाट सचेता बढाउनु पर्ने बताउनु भयो । उहाँले यसको न्यूनिकरणका लागि अविभावक सचेत हुनु पर्नेमा जोड दिनु भयो । उहाँले लागुऔषध सामान्य लत भनेर नबुझ्न आग्रह गर्नुभएको छ । लत जुनसुकै कुरामा पनि लाग्न सक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘लतलाई सामान्य रुपमा लिनुहुँदैन । पछि यही लतले बिकारल अवस्था सृजना गर्छ ।’ बुबाआमाले प्रत्यक्ष रुपमा आफ्नो छोराछोरीसँग साक्षत्कार गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।
यस्तै वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले आफु वडाको अविभावक भएकाले सम्पुर्ण वडाबासीको साथ सहयोग लिएर नकरात्मक कार्यलाइ निरुसाहित गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । उहाँले सचेतनाको अभाव र साथीको संगतका कारण युवाहरु लागूऔषधमा फस्ने गरेको बताउनु भयो ।
इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रहरी सहायक निरीक्षक प्रदिप आले मगरले समय दिन नसक्ने परिवारमा दुर्वसनीको लत धेरै हुने बताउनुभयो । उहाँका अनुसार लागुऔषध न्युनिकरण गर्नको लागि व्यक्ति आफु सचेत हुनुपर्छ । परिवार, राज्यले यसको प्रभावको बारेमा बुझ्न सके लागुऔषध दुव्र्यसनी न्यूनीकरण गर्न सकिने छ । परिवार, समाज, सरकार सकृय भए लागुऔषध, चोरी, हत्या हिसांका घटना सृजना नहुने उहाँको भनाई छ ।
सहभागीहरुलाई अधिवक्ता हिमकला कट्टेल प्रशिक्षण प्रदान गर्नु भएको थियो । तालिममा योनिक हिंसा, मानसिक हिंसा, शारीरिक हिंसा, लैगिंक हिंसा निवारणमा राज्यको दायित्व र लैगिंक हिंसा अन्त्य सम्बन्धमा विद्यमान कानूनी प्रावधान र व्यवस्थाको बारेमा प्रशिक्षण दिईएको थियो । अधिवक्ता कट्टेलले विश्वमा महिलाको जनसंख्या आधा जति भए पनि उनीहरूको सामाजिक, आर्थिक, राजनैतिक र नीति निर्माण तहमा महिलाहरूको न्यून उपस्थिति रहेको बताउनु भयो।
टोल बिकास संस्थाका अध्यक्ष सलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य हरि बाँस्कोटा वडासचिब भिम अधिकारी लगायत विभिन्न सामाजिक संघ संस्थाका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
वडा नम्बर ३ को आर्थिक सहयोगमा आयोजना गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिब हिमाल मैनालीले गर्नु भएको थियो l