झापा । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य तोकेको छ।
मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो।
वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४०० रुपैयाँ, खसीको मासु प्रतिकिलोग्राम ६०० रुपैयाँ, राँगाको मासु प्रतिकिलोग्राम ३०० रुपैयाँ तोकिएको छ।
त्यस्तै वडाले बाख्राको मासु प्रतिकिलोग्राम ५०० रुपैयाँ र स्थानीय (लोकल) कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक हजार रुपैयाँ तोकेको छ।
यसै गरी धान प्रति पाथी २५० रुपैयाँ, मकै पाथीको ३०० रुपैयाँ रहेको छ।
यस्तै कोदो र गहुँ प्रति पाथी समान ३०० रुपैयाँ, जौ प्रति पाथी २५० रुपैयाँ, भटमास ८०० रुपैयाँ र आलुको बिउ प्रतिपाथी ३०० रुपैयाँ मूल्य तोकिएको छ।
घ्यूको मूल्य प्रति माना ३०० रुपैयाँ तोकिएको छ।
यस्तै घरेलु मदिरा जाँड रक्सीको पनि वडा कार्यालयले मूल्य निर्धारण गरेको छ।
जसअनुसार लोकल रक्सी प्रति बोतल १५० रुपैयाँ, तोङ्वा १२५ रुपैयाँ र निघार प्रति बोतल १०० रुपैयाँ मूल्य तोकिएको छ।
वडाले घरेलु कामदारको ज्याला (पारिश्रमिक) पनि तोकेको छ।
पुरुष कामदारका लागि एक दिनको ५०० रुपैयाँ र महिला कामदारका लागि ४०० रुपैयाँ पारिश्रमिक तोकिएको छ।
वडाध्यक्ष सदनकुमार साँवा लिम्बूका अनुसार गएको आइतबार बसेको वडा कार्यसमितिको बैठकले उपभोग्य वस्तुको मूल्य तोक्ने निर्णय गरेको हो।
वडाभित्र उपभोग्य वस्तुको मूल्य र घरेलु कामदारको ज्यालामा एकरूपता ल्याउन दररेट तोकिएको वडाध्यक्ष साँवाले जानकारी दिए।
यता वडाले तोकेको मूल्य दर आ–आफ्नो टोलमा कार्यान्वयन गर्न पनि वडा कार्यालयले अनुरोध गरेको छ।
थाहाखबरबाट