झापा । मोरङको रतुवामाई नगरपालिका–६ मा भएको एक पारिवारिक हत्या प्रकरणमा प्रहरी अनुसन्धानले गम्भीर खुलासा गरेको छ।
अंशबन्डा सम्बन्धी पुरानो विवादका कारण एक व्यक्तिले आफ्नै भाउजूमाथि ज्यान लिएको पुष्टि भएको हो।
६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या अभियोगमा उनका देवर ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
गत असार २१ गते आफ्नै बारीमा टाउकोमा गहिरो चोट लागेका अवस्थामा फेला परेकी टीकामायाको घटनालाई प्रारम्भमा शंकास्पद मानिएको थियो।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले अनुसन्धान गर्दा मृतकका श्रीमान् गणेशबहादुर बस्नेत र उनका सौतेनी भाइ टंकबहादुरबीच अंशबन्डा सम्बन्धी पुरानो विवाद रहेको पत्ता लागेको छ।
यही रिसइबीको कारण टंकबहादुरले बोल्न नसक्ने (इशाराले मात्र संवाद गर्ने) भाउजूमाथि धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाको दुई दिनपछि टंकबहादुरलाई घरमैबाट पक्राउ गरेको थियो।
उनलाई नियन्त्रणमा लिएसँगै प्रहरीले घटनामा प्रयोग भएको हँसिया समेत बरामद गरेको जनाएको छ।
प्रहरी प्रवक्ता अनुसार, अभियुक्तमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१