प्रदीप परियार, झापा । डिभिजन वन कार्यालय झापाले एक वर्षमा ५२ लाख रुपैयाँको विरुवा उत्पादन गरेर वितरण गरेको छ ।
कार्यालयले जिल्लामा आवश्यक पर्ने विरुवा उत्पादन गरेर निशुल्क वितरण गरेको जनाएको छ ।
डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष ०८१-८२ मा विरुवा उत्पादनका लागि छुट्टाएको रकम बराबरको विरुवा उत्पादन गरेको सूचना अधिकारी अमृत बहादुर लिम्बुले जानकारी दिए ।
उनका अनुसार कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेङ्गा, कुसुम, विजयसाल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, विरेन्द्रफुल, गुल्मोहर, अमला जातिको विरुवा उत्पादन गरिएको छ ।
सूचना अधिकारी लिम्बुले २ लाख ४० हजार विरुवा उत्पादन गरिएको जानकारी दिए ।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले विरुवा माग गर्नेहरुको संख्या बढ्दै गएको बताएका छन् ।
शहरीक्षेत्रमा सौन्दर्य प्रदायक विरुवा र अन्य क्षेत्रमा व्यवसायिक प्रकृतिका विरुवाहरुको माग भइरहेको बताए ।
प्रमुख श्रेष्ठले व्यवसायिक हिसावले वृक्षारोपण गर्नेहरुले छिटो बढ्ने कदम, टिक, मसला जस्ता विरुवाहरुको माग गर्ने जानकारी दिए ।
झापाका अधिकांश सामुदायिक वनहरु विरुवाका लागि वन कार्यालयसँग निर्भर रहेका छन् ।
वन कार्यालयले सुरुङा, झिलझिले, बहुवन मेचीनगर, जलथल र जिल्ला कार्यालय नजिकै नर्सरीबाट विरुवा उत्पाद गर्दै आएको छ ।
विरुवा उत्पादनका लागि स्थानीय वीउ मात्र नभई अन्यत्रबाट पनि खरिद गरेर उत्पादन गर्ने गरिएको जनाएको छ ।
छिमेकी जिल्लाहरुलाई समेत विरुवा उत्पादन गरेर सहयोग गरिरहेको डिभिजन वन कार्यालय झापाले वन क्षेत्र नभएका ठाउँमा अभियाननै सञ्चालन गरिरहेको छ ।
वन क्षेत्र नभएको गौरीगञ्ज, कमल, गौरादह लगायतका क्षेत्रहरुमा स्थानीय नागरिकलाई विरुवा रोप्नका लागि प्रेरित समेत गर्ने गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्थानीय मागको आधारमा विरुवा उत्पादन गरेर रोप्नका लागि सहयोग गर्ने गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले माग अनुसारको विरुवा प्राप्त भइरहेको जानकारी दिए ।
जिल्लाभर रहेका सामुदायिक वन, सर्वसाधारण नागरिकहरुलाई विरुवा उपलब्ध भइरहेको अध्यक्ष भण्डारीको भनाई छ ।
चुरे उत्थानशिल परियोजना समेतको सहयोगमा विरुवा उत्पादन गरेर वितरणको काम भइरहेको उनको भनाई छ ।
अध्यक्ष भण्डारीले विरुवाका लागि डिभिजन कार्यालयबाट सहयोग भइरहेको जानकारी दिए ।
सशस्त्र वन सुरक्षा शाखाको सहयोगमा नियमित वन गस्ती परिचालन गर्दै वन क्षेत्रको संरक्षण गर्दै आएको कार्यालयले वन अतिक्रमण नियन्त्रण, सामुदायिक वन उपभोक्ता समूहहरूलाई क्षमता अभिवृद्धिका लागि तालिम गोष्ठी संचालन, उपभोक्ता समूहहरूलाइ प्राविधिक सहयोग, वृक्षारोपण, गोडमेल, झाडी सफाई लगाएतका वन संवद्र्धनका कार्यहरू गर्दै आएको जनाइएको छ ।
डिभिजन वन कार्यालयले ढलापडा, सुखडखडा, बुढो रूखहरू संकलन गरी उपभोक्तालाई वितरण समेत गरिरहेको छ ।
इजलास दैनिकबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१