1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ माघ २२ बुधबार

झापामा ‘पौरखी जेनजी’ म्यागजिन सार्वजनिक, हरिकृष्ण भण्डारीसहित १५ युवा सम्मानित



झापा । झापाबाट नौ वर्षअघि प्रकाशनमा आएको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक म्यागजिन प्रकाशनमा ल्याएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित पत्रिकाले जेनजी पुस्तालाई केन्द्रमा राखेर तयार पारेको म्यागजिनको लोकार्पणसँगै झापाका हरिकृष्ण भण्डारीसहित १५ जना जेनजी युवालाई सम्मान गरिएको छ ।
आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका ‘गरिखाने हिरो’लाई पौरखी जेनजी युवाका रूपमा सम्मान गरिएको लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी न्यौपानेले जानकारी दिए । उनका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका, आत्मनिर्भरता र सिर्जनशीलताको बाटोमा अघि बढिरहेका युवालाई पहिचान गर्ने उद्देश्यले म्यागजिन प्रकाशन गरिएको हो ।
सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको संयोजकत्वमा गठन गरिएको छनौट समितिले १ सय ५४ जना पौरखी युवामध्येबाट १५ जनालाई छनौट गरेको हो । छनौट समितिको सिफारिसअनुसार आज (आइतबार) बिर्तामोडमा आयोजित विशेष कार्यक्रममा लोकतन्त्र पोष्ट म्यागजिनको लोकार्पणसँगै सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मानित हुनेहरूमा भण्डारी सहित स्वेता बुढाथोकी, कृपेश कार्की, कृपा चापागाई, डा. चेतनराज कार्की, गायिका रचना रिमाल, सविन बास्कोटा, गायक अशोक दर्जी, कृपा ढकाल, जयराम दाहाल, अनन्त तामाङ, तनुजा पाण्डे, अंकित सुवेदी तथा राहुल तेज उत्सवको समूह रहेका छन् । त्यसैगरी मनिषा राजवंशीलाई पनि विशेष सम्मान गरिएको थियो ।
मनिषा राजवंशीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी न्यौपाने, सम्पादक अम्विका भण्डारी तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रूपमा सम्मान गरेका थिए ।
कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश प्रधान सम्पादक मोहन काजी न्यौपानेले गरेका थिए भने पौरखी जेनजी छनौट समितिका संयोजक महेन्द्रकुमार गिरीले सम्मानित युवाहरूको नाम सार्वजनिक गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सम्मानित व्यक्तित्वहरूको तर्फबाट स्वेता बुढाथोकी, सेवन कार्की, लोकतन्त्र पोष्टका कार्यकारी सम्पादक दामोदर ढुङ्गेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment