झापा । अधिकांश मानिस सर्प देख्नासाथ भाग्छन् । सर्पले खेदेर टोक्ने हो कि ? यो बिषालु हो या अबिषालु होला ? यी र यस्ता अनेकन प्रश्न आम मानिसमा पर्नु स्वभाविक पनि हो । यस्ता कौतुहलले पनि मानिसलाई डराउन बाध्य बनाइरहेका हुन्छन् । तर, झापाको अर्जुनधारा नगरपालिका निवासी ५८ वर्षीय बिरेन्द्र तिवारी भने सर्प देख्नेबित्तिकै त्यसको सुरक्षित उद्धारका लागि दौडिन्छन् ।

विगत २०७० सालदेखि निरन्तर सर्प उद्धारमा सक्रिय रहेका उनले हालसम्म दुई हजारभन्दा बढी विषालु र अविषालु सर्प सुरक्षित रूपमा उद्धार गरेर प्राकृतिक बासस्थानमा छोडिसकेका छन् । उनी भन्छन्, ‘ यति धेरै सर्पको उद्दार गरियो कि त्यसको कुनै तथ्याङ्क नै राखिएन ।’
तिवारीको मुख्य पेशा भने साइकल मर्मत हो । उनले झापाको अर्जुनधारा नगरपालिका स्थित माहानन्द चोकमा बि.सं. २०५८ सालदेखि यही व्यवसाय गर्दै परिवारको जीविकोपार्जन गरिरहेका छन् । तर, व्यवसायकै बीचमा कतैबाट सर्प देखिएको खबर आयो भने उनी आफ्नो काम तत्कालै छाडेर उद्धारका लागि निस्किन्छन् । बिहान, बेलुका, मध्यरात वा वर्षा–बाढी, जुनसुकै बेला पनि स्थानीयको एक फोनमा उनी घटनास्थल पुग्ने गरेका छन् । उनी विना स्वार्थ, विना आम्दानी आफ्नो गोजिको पैसा खर्चिएर जिल्लाका जुनसुकै स्थानमा पुगिहाल्छन् । उनको बाइकमा र झोलामा सर्प उद्दारका लागि आवश्यक सामाग्री सधैँ तयारी अवस्थामा हुन्छ ।
उनी भन्छन्, ‘ मलाई पहिले पनि सर्प देखि खासै डर लाग्दैन थियो, सर्प देखियो भने कुनै हालतमा पनि त्यसलाई निकालेर मारेरै छोड्ने गर्थे तर अहिले भने त्यसलाई उद्दार गरेर त्यसको बासस्थानमा लगेर छोड्नु पर्छ भनेर ज्ञान आएको छ । ’ उनले सर्प नमार्न सबैलाई आग्रह समेत गरेका छन् । समयसँगै सर्प पनि वातावरणीय सन्तुलनका लागि आवश्यक जीव भएको बुझाइ विकसित भएपछि उनले त्यसलाई मार्ने होइन, सुरक्षित रूपमा उद्धार गरेर जंगलमा छोड्ने अभियान सुरु गरेको बताएका छन् । पछिल्लो समय आफु सर्प उद्दारमा सक्रिय भएपछि सर्पलाई सत्रु नभइ मित्रवत व्यवहार गर्न थालेको समेत बताएका छन् । कुनै ठाउँमा अरु मानिस पुग्दा आक्रमक बनेको सर्प पनि आफु पुुग्दा सान्त बनेको उदाहरण धेरै रहेको उनको भनाई छ । जसले गर्दा मानिसहरु सर्प उद्दारकर्ता सँग कुनै मन्त्र वा त्यसलाई लट्याउने औषधि रहेको पनि आंकलन गर्छन । तर, त्यो सबै नभइ सर्प काबुमा ल्याउने तरिका र त्यसको भावना बुझ्न सक्ने क्षमता मात्र सर्प उद्दारकर्तासँग हुने गरेको उनी बताउँछन् ।
उनको यो अभियानमा प्रेरणाको स्रोत बनेका छन् झापाको चारपाने निवासी ७५ वर्षीय श्याम प्रधान । सर्प उद्धारका क्षेत्रमा गुरु मानिने प्रधानकै मार्गदर्शनमा तिवारीले उद्धार कार्य सिकेका हुन् । अहिले उनी झापाभरि नै सर्प उद्धारका लागि परिचित अनुयायीका रूपमा सक्रिय छन् ।
तिवारी लगायत उनको टिमले सर्प मात्र नभएर त्यसको अण्डा पनि संकलन गर्ने गरेको छ । त्यो संकलित अण्डालाई सुरक्षित राखेर बच्चा कोरलेर हुर्किएपछि त्यसको वातावरण अनुकुल क्षेत्रमा लगेर छोड्ने गरेको उनको भनाइ छ । नेपालमा पाइने ९८ प्रजातीका सर्पहरु मध्ये करिब १० प्रजातीका सर्प मात्र बिषालु हुने बताउँदै तिवारीले सर्बसाधारण सबैलाई बिषालु र अबिषालु सर्पको बारेमा थाहा नहुने र उद्दारको प्रयास गरियो भने अप्रिय घटना हुन सक्ने भन्दै सचेत समेत गराएका छन् । उनले घर या घर नजिकै त्यस्तो सर्प देखिएमा अनुभवि व्यक्तिलाई खबर गर्न समेत सुझाएका छन् ।
उनी भन्छन्, ‘सर्पले पीर नपरि मानिसलाई आक्रमण गर्दैन, सर्पले देखेर, सुनेर भन्दा पनि भाइब्रेसन र जिब्रो माध्यमबाट आफ्नो बाटो पत्ता लगाउँछ र आहारा खोज्छ । यदि सर्प र मानिससको जम्काभेट भयो भने मानिस भाग्छन् र सर्प पछि लागेर खेदाएको जस्तो लाग्नु स्वभाविक पनि हो । तर, सर्पले डस्न पछि लागेको नभइ मानिस कुदेका आधारमा भाइब्रेसनबाट आफ्नो बाटो पनि त्यतै हो भन्ने लागेर पछि लाग्ने गरेको हो । यदि त्यसलाई नजिस्काउने, नचलाउने र पिर नपार्ने हो भने कुनै आक्रमणको सिकार बन्नु पर्दैन । ’
सर्प समाउने वा उद्दार गर्ने काम धेरै नै जोखिम पूर्ण काम हो । आफ्नो ज्यानको जोखिम मोलेर आफुहरुले यो काम गरिरहेको उनी बताउँछन् । यद्यपि, जोखिमपूर्ण यो काममा उनीहरूले विभिन्न चुनौती पनि भोगिरहेका छन् । तिवारीका अनुसार स्थानीय तह तथा सम्बन्धित निकायले सर्प उद्धारकर्ताका लागि आवश्यक सुरक्षा सामग्री, उद्धार उपकरण तथा बिमाजस्ता आधारभूत सुविधाको व्यवस्था नगर्दा स्वयंसेवी रूपमा काम गर्न बाध्य छन् । उनले सर्प उद्धारकर्ताको सुरक्षाका लागि आवश्यक उपकरण र बिमाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
तिवारीको समाजसेवाप्रतिको समर्पणले परिवारलाई भने बेला–बेलामा चिन्तित बनाउँछ । उनकी श्रीमती हेमाया तिवारी राति अबेरसम्म वा मध्यरातमा सर्प उद्धारका लागि घरबाट निस्कँदा श्रीमानको सुरक्षालाई लिएर सधैं तनावमा रहने गरेको बताउँछिन् । ‘राति १२–०१ बजे पनि फोन आउँछ, उहाँ तुरुन्तै जानुहुन्छ । कहाँ पुग्नुभयो, के अवस्था छ भन्ने चिन्ताले निद्रा पनि लाग्दैन, अब त यस्तो जोखिमको काम नगर्नु भन्दा मान्नुहुन्न ।’
जीविकाका लागि साइकल मर्मत र समाजका लागि सर्प उद्धारबाट बिरेन्द्र तिवारीको जीवनले एउटा सन्देश दिन्छ, सेवा गर्न ठूलो पद वा सम्पत्ति होइन, ठूलो मन चाहिन्छ । जोखिमको पर्वाह नगरी वर्षौदेखि उनले गरिरहेको यो अभियानले मानव र वन्यजन्तुबीचको सहअस्तित्वलाई संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ । यदि कुनै बखत तपाईलाई वा तपाईको क्षेत्रमा सर्प उद्दारकर्ताको आवश्यकता परेमा अर्जुनधारा निवासी बिरेन्द्र कुमार तिवारीलाई सम्पर्क गर्न सक्नुहुने छ । उहाँको सम्पर्क नम्बर ९८१४९७५६५६
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१
