झापा । बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले भूमि समस्यासम्बन्धी विषयमा सार्वजनिक रूपमा व्यक्त गरिएका केही अभिव्यक्तिले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै तथ्यमा आधारित सूचना मात्रै प्रवाह गर्न आग्रह गरेका छन्।

वडाध्यक्ष खरेलले बिहीबार जारी गरेको धारणा अनुसार भूमि समस्याजस्तो संवेदनशील विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा भूमि समस्या समाधान जिल्ला समिति, झापाले जारी गरेका आधिकारिक सूचना र निर्णयलाई आधार बनाउनुपर्ने बताएका छन्। उनले माननीय सांसद इन्दिरा राना मगरलाई पनि आधिकारिक सूचनाकै आधारमा मात्र सार्वजनिक धारणा व्यक्त गर्न अनुरोध गरेका छन्।
उनले हाल टोलदेखि सदनसम्म भएका केही अभिव्यक्तिका कारण सर्वसाधारण अन्योलमा परेको, वडा कार्यालयमा अनावश्यक भीड बढेको तथा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको उल्लेख गरेका छन्।
खरेलका अनुसार बिर्तामोड नगरपालिका–७ ले आफ्नो क्षेत्रभित्रका भूमिसम्बन्धी समस्याग्रस्त व्यक्तिहरूको विवरण २०८३ साउन १३ गते बसेको नगर कार्यपालिका बैठकबाट भूमि समस्या समाधान जिल्ला समिति, झापामा सिफारिस गरिसकेको छ। त्यसैले स्थानीय तहले कुनै काम नगरेको भन्ने आरोप तथ्यसँग मेल नखाने उनको भनाइ छ।
वडाध्यक्ष खरेलले भूमि समस्या समाधान जिल्ला समिति, झापाले जारी गरेको २१ दिने सूचना नयाँ फाराम भर्ने प्रक्रिया नभएको पनि स्पष्ट पारेका छन्। उनका अनुसार उक्त सूचना यसअघि फाराम भरी NALCIS प्रणालीमा दर्ता भएका तर २०८२ भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा फाराम जलेर नष्ट भएका व्यक्तिहरूलाई पुनः फाराम भर्ने व्यवस्था गर्न जारी गरिएको हो।
भूमिसम्बन्धी विषयमा भ्रम फैलिन नदिन सबै जनप्रतिनिधि तथा सरोकारवाला निकायले आधिकारिक सूचनाका आधारमा मात्रै अभिव्यक्ति दिनुपर्ने र नागरिकलाई सही सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१
